काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ११ महिनापछि फेसबुक लाइभसहित मंगलबारदेखि शुरु भयो । नेपालमा राजनीतिक दलको बैठक लाइभ गरिएको पहिलोपटक हो ।
पहिलो दिनको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलेका छन् । बैठक सञ्चालन गर्दै महामन्त्री शर्माले नेपाली राजनीतिक इतिहासमै पहिलोपटक नेपाली कांग्रेसले फेसबुकमार्फत बैठक लाइभ गरिरहेको जानकारी दिए । दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए ।
त्यसपछि महामन्त्री गगनकुमार थापाले पार्टीको सांगठनिक कार्ययोजनाको प्रस्ताव प्रस्तुत गरेका थिए । उनले केन्द्रीय सदस्यहरुलाई पार्टीको कामबाट एक महिना छुट्टी दिने प्रस्ताव गरेका छन् । बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री थापाले केन्द्रीय सदस्यहरुलाई असारमा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् । उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका हुन् । ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्न र समुदायलाई अफ्ठ्यारो परेका बेलामा तयारी हुन्छौं । केन्द्रीय सदस्य साथीहरुले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्योभन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरु विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ,’ उनले भने ।
असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले असारमा किसानलाई सहयोग गर्नुपर्ने जनाए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपत्हरुको सामना गर्न पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।
महामन्त्री थापाले भदौ १५ भित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गरेका छन् । त्यस्तै समितिहरुले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आगामी एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउनेगरी घर-घर जाऔं, पार्टी सदस्य बनाऔं अभियान सञ्चालन गरिने पनि उल्लेख छ ।
‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तर्गतका कार्यक्रम बनाई कार्यतालिकासहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरको गतिविधिको प्रगति विवरण ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिहरुले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो । साउन २० देखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुने । यसमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ,’ महामन्त्री थापाको भनाइ छ ।
उनले पार्टीका सबै दस्ताबेजहरु डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने प्रस्ताव गरेका छन् । यसका निम्ति कामहरु भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरेका थिए ।
बैठकपछि केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । उनले आफ्नै पार्टीका नेताहरुको बागी उम्मेदवारी र अन्तरघातका कारण कतिपय जित हुने ठाउँमा पनि पराजय भोग्नुपरेको यथार्थ भन्दै प्रतिवेदन पेस गरेका थिए ।
निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गरेपछि अनुशासन आयोगले प्रतिवेदन पेस गरेको थियो । अनुशासन आयोगका संयोजक आनन्द ढुंगानाले आफ्नो समिति पूर्ण भइनसकेकाले प्रतिवेदन नभनी ‘जानकारी हो’ भन्दै भनाइ राखेका थिए । उनले एक वर्ष भएका स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका नेता-कार्यकर्ताले अनुशासन उल्लंघन गरेका विषयहरुको फेहरिस्त प्रस्तुत गरेका थिए ।
त्यसपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेका थिए । उनले पार्टीको पहिलो जिम्मेवारी वर्तमान सत्तारुढ गठबन्धनलाई स्थिर र स्थायी बनाउनु रहेको जनाएका छन् ।
बैठकमा उनले सरकारलाई स्थिर बनाउन संसद्भित्र कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको दाबी पनि गरे । उनले कानुन निर्माणमा गठबन्धन दलहरुकै बीचमा हुने फरक विचारमा पनि सामञ्जस्यता गरेर जानुपर्ने अवस्था रहेको जनाए ।
‘हाम्रो पहिलो जिम्मेवारी भनेको अहिलेको गठबन्धनलाई स्थिर र स्थायी बनाइराख्नुपर्नेछ । विभिन्न राजनीतिक दलहरुको गठबन्धनमा सरकार बनेको छ, त्यो सरकारलाई स्थिर बनाउन, स्थायी बनाउन सदनभित्र नेपाली कांग्रेसले सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको छ । गठबन्धनभित्र कानुन निर्माण गर्ने सवाल र कतिपय नीतिगत तथा व्यवहारिक सवालहरुमा गठबन्धनभित्रै उत्पन्न हुने विभिन्न विचारबीच पनि सामञ्जस्य गरेर कांग्रेस अगाडि जानुपर्ने अवस्था छ,’ बैठकमा लेखकले भने ।
प्रमुख सचेतक लेखकले संसद्भित्र प्रमुख प्रतिपक्ष दल आक्रामक रहेको उल्लेख गरे । कांग्रेसले सत्तारुढ दलहरुभित्र मात्रै होइन प्रतिपक्ष दलहरुसँग समेत समन्वय गर्नुपर्ने उनको धारणा छ ।
‘प्रतिपक्ष आक्रामक छ । प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ । अरु प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । र नयाँ-नयाँ संसदीय अभ्यासमा भएका हुनाले यदाकदा अपरिपक्वता पनि देखिराखेको अवस्था छ,’ लेखकले भने, ‘सत्ता गठबन्धनभित्र मात्रै सामञ्जस्यता र समन्वयकारी भूमिका होइन कि प्रतिपक्षसँग पनि सामञ्जस्य र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सु-सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको छ ।’
उनले संसदीय समितिका सभापतिको चयन तत्काल गर्नुपर्नेमा जोड दिए । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयकहरु तत्काल पारित गर्नुपर्ने पनि उनको भनाइ छ । लेखकले पार्टीको संसदीय दलको कार्यसमिति तत्काल बनाउनुपर्ने, विषयगत समितिलाई पनि नियमित गर्नुपर्ने र संसद् बैठकमा पार्टीका सांसदहरुको नियमित उपस्थिति हुनुपर्ने कुरामा पार्टीको ध्यानाकर्षण गराए ।
त्यसैगरी पार्टी उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरे ।
आज (मंगलबार) देखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले राष्ट्रपति कांग्रेसले पाउने सर्तमा प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिइएको जनाए । एमाले-माओवादी केन्द्रलगायत दलको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त दाहाललाई प्रमुख प्रतिपक्षी कांग्रेसले पनि विश्वासको मत दिएको थियो । विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा दाहालले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिबद्धता जनाएको जानकारी दिए ।
‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौं । विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउन वर्तमान प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा । हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ताक्रममा भएको थियो,’ खड्काले केन्द्रीय सदस्यहरुमाझ भने, ‘त्यही विश्वासका आधारमा हामीले विश्वासको मत दियौं । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्यौं ।’
उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए । जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै उनले आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको दाबी गरे । ‘सरकारको कामबाट सकेसम्म जनतालाई प्रेरित गरेर जनतालाई उत्साहित गर्ने, जनतालाई नयाँ आशा र भरोसा दिलाउने कामका लागि हामीले अगाडि लाग्नु छ । कहीँ यताउता गर्न सकेनौं भने जनताप्रति नकारात्मक असर पर्ने, जनता रिसाउने, मतदाता रिसाउने, पार्टी बचाएर जमिनमा बसेका कार्यकर्ता सदस्यहरु हामीसँग रिसाउने काम नभइदिओस् भन्ने आमअपेक्षा छ,’ उनले भने, ‘जिल्लामा जाँदा त्यो खालको अनुभूति हुन्छ । मलगायत ९ जना साथी सरकारमा छौं । अहिलेसम्म जानेर नियतवश कुनै गल्ती कमजोरी गरेको जस्तो लाग्दैन ।’
उनले पार्टीको मर्यादालाई कायम राख्दै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले सरकारले गर्नुपर्ने कामको सम्बन्धमा केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वास पनि व्यक्त गरे ।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकको पहिलो दिन मंगलबार नेताहरुले विभिन्न प्रस्तुति राख्दै सकिएको हो । बैठक भोलि (बुधबार) बिहान ११ बजे पुन: बस्नेछ । बुधबारबाट भने प्रत्येक केन्द्रीय समिति सदस्यहरुलाई बोल्नका लागि ७ मिनेटको समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
थप समाचार...
नेपाली कांग्रेसले सुरु गर्यो केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण
‘वर्तमान सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’
कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन के-के भयो ?
राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का
कांग्रेस केन्द्रीय सदस्यलाई असारमा मात्र पार्टीको कामबाट छुट्टी, सबै दस्ताबेजको डिजिटल अभिलेख राखिने
पार्टी रुपान्तरणका लागि बुझाइयो २१ बुँदे सुझाव (पूर्ण पाठ)
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् मुख्य १० एजेन्डा
‘वर्तमान सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’