कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् मुख्य १० एजेन्डा

श्रावण २, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् मुख्य १० एजेन्डा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेसको विधानअनुसार दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्नु पर्नेमा आज एक वर्षपछि बस्न लागेको हो । सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले मुख्यतः १० एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनकाअनुसार बैठक प्रतिवेदन र प्रस्तावसहित १० बुँदे एजेन्डामा केन्द्रित रहनेछ । पहिलो एजेन्डाको रुपमा समसामयिक राजनीतिक विषय रहने उनले जनाए । यस्तै आर्थिक, सामाजिक, परराष्ट्र शासन र सुशासनका सन्दर्भमा बैठक केन्द्रित रहने छ । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिकासमेत बैठकमा एजेन्डाको रुपमा प्रस्तुत हुने शर्माले जनाए ।

यस्तै केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय अनुमोदनको प्रस्ताव पनि बैठकमा प्रस्तुत हुनेछ । महामन्त्री शर्माकाअनुसार निर्वाचन परिचालन समिति २०७९ का संयोजक गोपालमान श्रेष्ठले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत हुनेछ । महामन्त्री शर्माले नीति अधिवेशनको मिति तय गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत हुने जानकारी दिए ।

बैठकमा विभागहरु गठनका साथै पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत हुनेछ । अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि तय भएको छ ।

पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनेछन् । उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधि सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको छ ।

बैठकमा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टी अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

महामन्त्री शर्माले बैठकको लाइभ (प्रत्यक्ष प्रसारण) गर्ने सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिए । सभापति शेरबहादुर देउवाले सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव राखेका थिए ।

देउवाको प्रस्तावमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतले भने असहमति जनाएका छन् । अर्का महामन्त्री शर्माले भने लाइभलाई सकारात्मक रुपमा लिनु पर्ने धारणा राखेका छन् । यद्यपि, लाइभको विषयमा आजको बैठकमा मात्रै औपचारिक निर्णय हुने उनले जनाएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement