‘वर्तमान सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’

श्रावण २, २०८० |कान्तिपुर टीभी संवाददाता
‘वर्तमान सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको पहिलो जिम्मेवारी वर्तमान सत्तारुढ गठबन्धनलाई स्थिर र स्थायी बनाउनु रहेको जनाएका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार उनले सरकारलाई स्थिर बनाउन संसद्‌भित्र कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको दाबी पनि गरे । उनले कानुन निर्माणमा गठबन्धन दलहरुकै बीचमा हुने फरक विचारमा पनि सामञ्जस्यता गरेर जानुपर्ने अवस्था रहेको जनाए ।

‘हाम्रो पहिलो जिम्मेवारी भनेको अहिलेको गठबन्धनलाई स्थिर र स्थायी बनाइराख्नुपर्ने छ । विभिन्न राजनीतिक दलहरुको गठबन्धनमा सरकार बनेको छ, त्यो सरकारलाई स्थिर बनाउन, स्थायी बनाउन सदनभित्र नेपाली कांग्रेसले सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपरेको छ,’ बैठकमा लेखकले भने, ‘गठबन्धनभित्र कानुन निर्माण गर्ने सवाल र कतिपय नीतिगत तथा व्यवहारिक सवालहरुमा गठबन्धनभित्रै उत्पन्न हुने विभिन्न विचारहरुका बीचमा पनि सामञ्जस्य गरेर कांग्रेस अगाडि जानुपर्ने अवस्था छ ।’

प्रमुख सचेतक लेखकले संसद्‌भित्र प्रमुख प्रतिपक्ष दल आक्रामक रहेको उल्लेख गरे । कांग्रेसले सत्तारुढ दलहरुभित्र मात्रै होइन प्रतिपक्ष दलहरुसँग समेत समन्वय गर्नुपर्ने उनको धारणा छ ।

‘प्रतिपक्ष आक्रामक छ । प्रमुख प्रतिपक्ष आक्रामक छ । आक्रामक मात्रै होइन परिपक्व त छ तर कहिलेकाहीँ अधैर्य देखिन्छ । अरु प्रतिपक्ष आक्रामक पनि छन् । अधैर्य पनि छन् । र नयाँ-नयाँ संसदीय अभ्यासमा भएका हुनाले यदाकदा अपरिपक्वता पनि देखिराखेको अवस्था छ,’ लेखकले भने, ‘सत्ता गठबन्धनभित्र मात्रै सामञ्जस्यता र समन्वयकारी भूमिका होइन कि प्रतिपक्षसँग पनि सामञ्जस्य र समन्वयकारी भूमिका निर्वाह गरेर सदनलाई सु-सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि कांग्रेसको छ ।’

उनले संसदीय समितिका सभापतिको चयन तत्काल गर्नुपर्नेमा जोड दिए । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयकहरु तत्काल पारित गर्नुपर्ने पनि उनको भनाइ छ । लेखकले पार्टीको संसदीय दलको कार्यसमिति तत्काल बनाउनुपर्ने, विषयगत समितिलाई पनि नियमित गर्नुपर्ने र संसद् बैठकमा पार्टीका सांसदहरुको नियमित उपस्थिति हुनुपर्ने कुरामा पार्टीको ध्यानाकर्षण गराए ।

थप समाचार...

कांग्रेस केन्द्रीय समिति बैठकको पहिलो दिन के-के भयो ?

राष्ट्रपति पाउने भएपछि दाहाललाई विश्वासको मत दियौं : खड्का

कांग्रेस केन्द्रीय सदस्यलाई असारमा मात्र पार्टीको कामबाट छुट्टी, सबै दस्ताबेजको डिजिटल अभिलेख राखिने

पार्टी रुपान्तरणका लागि बुझाइयो २१ बुँदे सुझाव (पूर्ण पाठ)

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् मुख्य १० एजेन्डा

‘वर्तमान सत्ता गठबन्धनलाई स्थिर बनाइराख्नु कांग्रेसको पहिलो जिम्मेवारी’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement