कांग्रेस केन्द्रीय सदस्यलाई असारमा मात्र पार्टीको कामबाट छुट्टी, सबै दस्ताबेजको डिजिटल अभिलेख राखिने

श्रावण २, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय सदस्यलाई असारमा मात्र पार्टीको कामबाट छुट्टी, सबै दस्ताबेजको डिजिटल अभिलेख राखिने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरुलाई पार्टीको कामबाट एक महिना छुट्टी दिने प्रस्ताव गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगन थापाले केन्द्रीय सदस्यहरुलाई असारमा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस गरेका हुन् । उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका हुन् । ‘असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अफ्ठ्यारो परेका बेलामा तयारी हुन्छौं । केन्द्रीय सदस्य साथीहरुले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्योभन्दा बाहेक समय कि उहाँहरु अभियानमा हुनुहुन्छ, कि उहाँहरु विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ,’ उनले भने ।

असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरुले असारमा किसानलाई सहयोग गर्नुपर्ने जनाए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपत्‌हरुको सामना गर्न पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले भदौ १५ भित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पेस गरेका छन् । त्यस्तै समितिहरुले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आगामी एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउनेगरी घर-घर जाऔं, पार्टी सदस्य बनाऔं अभियान सञ्चालन गरिने पनि उल्लेख छ ।

‘प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तर्गतका कार्यक्रम बनाई कार्यतालिकासहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र विधानको नियमावलीको ४७ (ख) बमोजिम वर्षभरको गतिविधिको प्रगति विवरण ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा बुझाउनुपर्ने । समितिहरुले पूर्णता पाउन सकेका छैनन् । भाद्र १५ गतेसम्म पूर्णता पाउने प्रस्ताव हो । साउन २० देखि २०८१ असार ३१ गतेसम्म घर घर जाउँ पार्टी सदस्य बनाऔँ भन्ने राष्ट्रिय अभियान सुरु हुने । यसमा कम्तिमा ५ लाखदेखि ७ लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्नेछ,’ महामन्त्री थापाको भनाइ छ ।

उनले पार्टीका सबै दस्ताबेजहरु डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने प्रस्ताव गरेका छन् । यसका निम्ति कामहरु भइरहेको पनि महामन्त्री थापाले उल्लेख गरेका थिए ।

यो पनि...

पार्टी रुपान्तरणका लागि बुझाइयो २१ बुँदे सुझाव (पूर्ण पाठ)

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् मुख्य १० एजेन्डा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement