नागरिकतासम्बन्धी विधेयकमा सरकार उदासीन, न्यायपालिका गुहार्दै नागरिकताविहीनहरू

चैत्र २१, २०७९ |जितेन्द्र झा|सुरज खड्का|श्याम श्रेष्ठ
नागरिकतासम्बन्धी विधेयकमा सरकार उदासीन, न्यायपालिका गुहार्दै नागरिकताविहीनहरू

काठमाडौं । जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेकाहरूका सन्तानले अझै नागरिकता पाउन सकेका छैनन् । 

संसद्ले कानुन बनाउन ढिलाइ गर्दा लाखौँ नेपाली नागरिकताविहीन भएर बस्न बाध्य छन् । प्रशासन कार्यालयहरूले सहज रूपमा राहदानी नदिएपछि केहीले अदालतको आदेशबाट नागरिकता लिँदै आएका थिए । तर, अब नागरिकताविहीन नेपाली युवाले सामूहिक रुपमै अदालतमा नागरिकताका लागि निवेदन दिने भएका छन् ।

धनुषाको मिथिला नगरपालिकाका जितेन्द्र कुशवाहाका बाबुले जन्मका आधारमा नागरिकता लिएका थिए । कानुन अभावमा उनले नागरिकता नपाउँदा अदालतमा पुगे र आदेशपछि पाए । उनले न्यायपालिकाको ढोका ढकढक्याउँदा उनीजस्तै कयौँ युवा नागरिकता विधेयकका लागि माइतीघरमा प्रदर्शन गर्दै थिए । 

कुशवाहसँग त अहिले नागरिकता छ । तर प्रदर्शन गरेर संसद्लाई संविधान बमोजिम कानुन बनाउन माग गर्नेहरु आफ्नो नागरिकताका लागि भौँतारिरहेका छन् । संसद्लाई गुहार्दा गुहार्दै थाकेका नागरिकताविहीनहरू अब न्यायपालिकाबाट नागरिकता पाउने आशाका साथ कानुनी उपचारका लागि अगाडि बढेका छन् ।

जन्मका आधारमा नागरिकता पाएकाहरूबाट जन्मिएका सन्तानले कानुन बनाउन २०७२ सालदेखि नै सरकारसँग माग गरिरहेका छन् । नेपालको संविधानअनुसार उनीहरू वंशजका आधारमा नागरिकता पाउन योग्य छन् । नागरिकता पीडित संघर्ष समितिको नामले सङ्गठित भएका उनीहरू विभिन्न जिल्लाबाट सङ्गठित भएर एकै पटक हजारौँको संख्यामा अदालतमा निवेदन दर्ता गर्ने तयारीमा छन् ।

२०७२ सालमा नयाँ संविधान जारी भएपछिको ७ वर्षमा नागरिकता विधेयक पारित नै भएन । पछिल्लो पटक संसद्ले पारित गरेको विधेयक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । नयाँ राष्ट्रपति चुनिएपछि उनीहरू विधेयक पारितका लागि अभियानमा जुटेका हुन् । योसँगै उनीहरू अदालत गुहार्ने तयारीमा छन् । निवेदकको प्रकृति उस्तै रहे एकै पटक धेरै जनाको उजुरी दर्ता गर्न सकिने कानुन व्यवसायी बताउँछन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार १ लाख ९१ हजारभन्दा बढी जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तान बालिग भएर पनि नागरिकताकै लागि भौँतारिरहेका छन् । प्रमुख राजनीतिक दलले नागरिकता कानुन बनाएर उनीहरूलाई नागरिकता दिनुपर्ने भन्दै आएका छन् । तर नागरिकताविहीन वर्षौँदेखि अनागरिकको परिचयबाट मुक्त हुन सकेका छैनन् ।

सम्बन्धित समाचार...

कानुन अभावमा १ लाख ३२ हजारका सन्तानले नागरिकता पाउन सकेनन्

नागरिकता संशोधन विधेयकमा किन भएन सर्वदलीय सहमति ?

नागरिकताको विषयमा किन बारम्बार राजनीति हुन्छ ?


Image

जितेन्द्र झा

झा कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।

Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।