उपनिर्वाचन : प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते एकैपटक (रिपोर्ट)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन : प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते एकैपटक (रिपोर्ट)

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै रिक्त थप दुवै स्थानमा पनि वैशाख १० गते नै चुनाव गर्ने भएको छ । यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिविहीन भएको छ । यस्तै हिजो (शुक्रबार) उपराष्ट्रपतिमा निर्वाचित जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवको क्षेत्र बारा २ पनि रिक्त छ । आयोगले यी दुवै ठाउँमा र चितवन २ मा पनि चुनाव एकैदिन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको भनाइ छ ।

आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ । जसले गर्दा आयोगलाई ४५ दिन लाग्ने यो काम गर्नुपर्ने छैन । त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुपर्ने छैन । उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो ।

त्यसैगरी स्थानीय तहमा पनि गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष गरी हालसम्म ६ वटा पद खाली छन् । त्यहाँ भने कहिले निर्वाचन गर्ने भन्ने आयोगले टुंगो लगाउन सकेको छैन ।

सम्बन्धित समाचार...

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन
आयोगले भन्यो- चितवन २ मा हुने उपनिर्वाचनमा साढे २ करोड खर्च हुन्छ
चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी