काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको बताउनुभएको हो ।
सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुनेगरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गर्नुभयो । उक्त सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तीमा मतदातालाई सुनाउनकै लागि भए पनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बालिदिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदैछ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ । यो के भएको हो ?”