आयोगले भन्यो- चितवन २ मा हुने उपनिर्वाचनमा साढे २ करोड खर्च हुन्छ

फाल्गुन १, २०७९ |कान्तिपुर टीभी संवाददाता
आयोगले भन्यो- चितवन २ मा हुने उपनिर्वाचनमा साढे २ करोड खर्च हुन्छ

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपत्रबाहेक पुरानै निर्वाचन सामग्री प्रयोग गर्ने भएको छ । मतपत्र छपाइ र कर्मचारीका लागि साढे दुई करोड खर्च हुने आयोगको अनुमान छ ।

चितवन २ को उपनिर्वाचनका लागि करिब एक लाख ३४ हजार मतपत्र आवश्यक पर्नेछ । सो क्षेत्रमा कायम गरिएका १३८ वटा मतदान केन्द्रका लागि झन्डै एक हजार कर्मचारी चाहिने आयोगको भनाइ छ । मतपत्र र कर्मचारीका लागि मात्र नयाँ खर्च लाग्ने आयोगले जनाएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बाँकी रहेका सामग्रीले नै निर्वाचन गर्ने आयोगको तयारी रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले कान्तिपुरलाई जानकारी दिए ।

उपनिर्वाचनको मिति तोकिसकेको आयोगले कार्यतालिका नै बनाएर काम सुरु गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि शनिबार राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशित गर्नेछ भने फागुन १० गते देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको छ ।

दर्ता भएका राजनीतिक दलको छानबिन १४ देखि २७ गतेसम्म गरी राजपत्रमा प्रकाशित गर्नेछ । चैत २० गते उम्मेदवारको मनोनयन, २१ गते दाबी विरोध र २२ गते दाबी बिरोधमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ । त्यस्तै २३ गते अन्तिम नामावली प्रकाशित हुनेछ । ७ गतेसम्म १५ दिन उम्मेदवारको प्रचारप्रसारको समय तोकिएको छ । निर्वाचनका लागि आजैदेखि मतदाता नामावली अध्यावधिक गर्ने काम सुरु भइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.