काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा विरोधाभास र अलमल रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद बस्नेतले यस्तो टिप्पणी गर्नुभएको हो ।
सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथकिताबीच तालमेल नभएको बताउनुभयो । उहाँले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बनेपातिर हिँड्ने लक्ष्य राखेको तर थानकोटतिर पाइला चालिरहेको भान भएको टिप्पणी गर्नुभयो ।
उहाँले आफूहरूले विगतमा भएका कमजोरीको आत्मालोचना र प्रतिबद्धतासहित प्रस्तुत हुन खोजेको उल्लेख गर्दै सरकारले पनि सोही आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारीसहितको मिश्रित अर्थतन्त्रलाई नेपालको आर्थिक सिद्धान्तको रूपमा स्पष्ट रूपमा अंगिकार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “बजेटका सिद्धान्त र प्राथमिकता विरोधाभास र अलमलमा परेको जस्तो छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले हिँड्न चाहिँ बनेपातिर लक्ष्य राखेको तर पाइला चाहिँ थानकोटतिर बढाइरहेको जस्तो अनुभूति हुने थुप्रै विषयवस्तुहरू छन् । म आशा गर्छु यहाँ हुने छलफल छलफलका लागि मात्र हुने छैन । म आशा गर्छु यस पटक पनि अर्थमन्त्रीज्यूले उत्तरलाई प्रश्न बनाइदिनु हुने छैन ।”
आर्थिक नीतिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको सांसद बस्नेतको भनाइ छ ।