चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

फाल्गुन १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
चितवन २ सहित चैत ३ गतेसम्म खाली हुने सबै निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त हुने व्यवस्था छ । त्यहाँ उपनिर्वाचन गर्नुपर्छ । चितवन २ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ । आयोगले तीनवटै क्षेत्रमा एकै दिन निर्वाचन गर्ने तयारी गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तनहुँ १ का सांसद हुन् । त्यसैगरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । राष्ट्रपति निर्वाचनपछि यी दुईमध्ये एक क्षेत्र खाली हुनेछ । उपराष्ट्रपतिको उम्मेदवारको टुंगो भने लागेको छैन । आयोगले उपनिर्वाचन गर्नुपर्ने क्षेत्रका लागि निर्वाचन सामग्री किन्नु नपर्ने जनाएको छ ।

मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने आयोगको भनाइ छ । आयोगले राष्ट्रपति निर्वाचनका लागि मतपत्र छपाइसँगै सम्पूर्ण तयारी पूरा गरेको जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.