दाङ । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट समानुपातिक प्रदेश सभा सदस्य गुरुङले लुम्बिनीका सभामुखलाई बुझाएको राजीनामा पत्र मंगलबार सार्वजनिक भएको छ ।
गुरुङले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेकाले आफूले पनि जनताका पक्षमा केही गर्न नसकेको उल्लेख छ ।
गुरुङ लामो समयदेखि संसद् बैठकमा अनुपस्थित हुने गरेको, संसदीय दलको बैठकमा पनि उपस्थित नभएको र पछिल्लो दुई महिनादेखि पार्टीको सम्पर्कमा पनि नरहेको जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले जानकारी दिनुभयो ।
भैरहवाकी स्थायी बासिन्दा गुरुङलाई जनमत पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सासंद बनाएको थियो । प्रदेश सभा गुरुङ लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालमा पाँचौं अधिवेशनसम्म ८३ वटा संसद बैठक चलेकोमा ३४ दिन मात्रै उपस्थित हुनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विदेश आउजाउ गरिरहने गुरुङ दुई महिनाअघि बेलायत गएको र उतैबाट राजीनामा पठाएको पाइएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेश सभा सदस्य गुरुङको राजीनामा कार्यालयमा अझै आइनसकेको र आफूले मिडियाबाट सुनेको बताउनुभयो ।