प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

४ दिनमा १८ घण्टा छलफल हुने
वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा बैठकमा अहिले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आइतबार पेश गर्नुभएको विनियोजनक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको हो ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँगको व्यापार घाटा न्यून गर्नुपर्ने र विद्युत् निर्यातलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यसका लागि बूढीगण्डकी जलाशययुक्त आयोजनाको मोडालिटी तयार गरेर निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । यस्तै, गुणस्तरीय र प्रतिफल दिने पूर्वाधार छनोट गरेर अगाडि बढ्नुपर्नेमा सांसदहरूको भनाइ छ ।

एमाले सांसद गोकर्ण विष्टले युवाहरूको तीव्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले जलस्रोतको अधिक उपयोगका लागि नीतिगत सहजीकरण गरिनुपर्ने, आर्थिक विकाससँगै सुशासन प्रमुख प्राथमिकता हुनपर्ने र जमिनको पुनःव्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चार दिन प्रि बजेट छलफल गर्ने निर्णय गरेको थियो । आजदेखि जेठ २ गतेसम्म चल्ने छलफलका लागि १८ घण्टाको समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा छलफलका लागि छुट्याइएको छ । भोलि पाँच घण्टा, जेठ एक गते चार घण्टा र जेठ दुई गते पाँच घण्टा छलफल गरिनेछ ।

यसअघि प्रतिनिधि सभाको शून्य तथा विशेष समयमा भाग लिँदै सांसदहरूले वर्षायाममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वातयारी थाल्न सरकारको ध्यानाकर्षण गरएका छन् । उनीहरूले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको उल्लेख गर्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनःनिर्माण कछुवाको तालमा भइरहेको गुनासो गरे । 

सांसदहरूले बाढीले पुर्‍याएको क्षति, सडक दुर्घटना लगायतका विषयलाई सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.