प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् ।

सत्ताघटक दल एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका हुन् ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँगको नयाँ राजनीतिक समीकरण बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । गत फागनु १३ गते राप्रपाले सरकार छाडेको थियो भने फागुन १५ गते एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका थिए ।

फागुन १३ देखि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘टफटक’सँगको कुराकानीमा खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने खुलाएका हुन् ।

मन्त्री खानकाअनुसार प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिने तय भएको र विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद विस्तारको तयारी छ । कार्यक्रम टफटक आज (बुधबार) राति ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।

यसअघि गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएपछि उनले असाधारण बहुमत पाएका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले मतदानमा सहभागी २७० सांसदमध्ये २६८ जनाको मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विपक्षमा रहेका थिए ।

दाहाललाई प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, ३ स्वतन्त्र सांसदलगायतले विश्वासको मत दिएका थिए । 

थप समाचार :

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा

सरकारबाट बाहिरिने राप्रपाको निर्णय


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.