प्रधानमन्त्री दाहालले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

पुस २६, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहालले पाए विश्वासको मत : पक्षमा २६८, विपक्षमा २ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा दाहालले २६८ मत प्राप्त गरे ।

दाहाललाई प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, ३ स्वतन्त्र सांसदलगायतले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ । सदनमा २७० मत परेको थियो ।

विश्वासको मतको विपक्षमा २ सांसद उभिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विपक्षमा रहे । संसद्‌मा मत विभाजन हुनुअघि सबै दलका नेताहरुले मन्तव्य दिएका थिए ।

बहुमतसहित प्रधानमन्त्री दाहालले संसद्‌बाट विश्वासको मत लिएको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे । संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रतिनिधिसभा बैठक २०७९ माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

दाहालले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलोपटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रोपटक प्रधानमन्त्रीको पद सम्हालेका थिए । तेस्रोपटक उनी २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भए हुन् ।

संविधानसभा निर्वाचन, २०६४ मा नेकपा माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो । सोही वर्ष उनी प्रधानमन्त्री बनेका थिए । तत्कालीन सेनाप्रमुख रूक्मांगद कटवाललाई बर्खास्त गर्ने उनको प्रयासको तत्कालीन राष्ट्रपति रामवरण यादवले विरोध गरेपछि उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।

गठबन्धन हाईज्याक भएको थियो, करेक्सन गर्‍यौँ : रामचन्द्र पौडेल

यता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हाईज्याक भएको गठबन्धनलाई नेपाली कांग्रेसले करेक्सन गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गरिसकेपछि प्रतिक्रिया दिँदै उनले संविधानको रक्षा र राष्ट्रका लागि सबै शक्तिहरू एकै ठाउँमा उभिएको जनाए । उनले मुलुकको परिस्थिति पेचिलो बन्दै गएकाले सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनु परेको प्रतिक्रिया दिए ।

व्यवस्था जोगाउनका लागि यस ऐतिहासिक घटनामा कांग्रेसले समर्थन गरेको नेता पौडेलको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement