एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा

फाल्गुन १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
एमालेका ८ मन्त्रीले बुझाए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाउन एमालेका सात मन्त्री प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् । रक्षामन्त्री हरिप्रसाद उप्रेती भने अस्वस्थताका कारण बालुवाटारमा अनुपस्थित रहे ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमिमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री विमला राई पौड्याल, स्वास्थ्यमन्त्री पदम गिरी, महिला तथा बालबालिकामन्त्री भगवती चौधरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती र उद्योगमन्त्री दामोदर भण्डारीको राजीनामा प्रधानमन्त्री दाहाललाई बुझाइएको हो ।

सत्ता भागबन्डामा एमालेले उपप्रधानमन्त्रीसहित आठ मन्त्रालयको जिम्मेवारी लिएको थियो । माओवादी केन्द्रले एमालेसँगको गठबन्धन तोडेर आठदलीय गठबन्धन बनाएपछि एमालेले सरकारबाट बाहिरिने निर्णय सोमबार मात्रै गरेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई माओवादीले असहयोग गरेपछि सरकारबाट बाहिरिने निर्णय भएको हो ।

पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल अघि नबढेको र नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको उपाध्यक्ष पौडेलको भनाइ छ ।

गोविन्द बन्दीको जेनेभा भ्रमणको वैधानिकतामाथि प्रश्न (भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले आज (सोमबार) बिहान सचिवालय बैठक राखेको थियो । प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजान निर्देशन दिँदै स्वेच्छाले सरकार छाड्न वा विनाविभागीयमन्त्री बनाउनेसम्मका कुरा गरेपछि सरकार छाड्ने निर्णय गरेको विष्णु पौडेलले जानकारी दिए ।

गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पुर्‍याएका थिए । त्यतिबेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली कांग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

यसैबीच, परराष्ट्रमन्त्री विमला राई पौड्यालले प्रधानमन्त्रीले नै नेतृत्व गर्नुपर्ने राष्ट्रसंघीय सभामा सल्लाहकारले नेतृत्व गर्दा कानुनी रुपमै प्रश्न उठेको बताएकी छन् । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औं सभामा आफूलाई जान नदिइएको विषयबारे राष्ट्रिय सभाको सोमबारको बैठकमा मन्त्री पौड्यालले यस्ता कार्यबाट राज्यको छविमै आँच आउनसक्ने धारणा राखिन् । उनले नेपालले मानव अधिकारका विषयमा गरेको प्रगतिमा असर पुग्ने हो कि भन्ने डर पैदा भएको टिप्पणी गरिन् ।

मानव अधिकारका अरु विषयमा नेपालले प्रगति गरे पनि संक्रमणकालीन न्यायका विषयमा भने प्रश्न उठिरहेको र मानवअधिकार आयोगलाई ए समूहबाट घटुवा गरेर बी समूहमा लैजाने हो कि भन्ने प्रश्न उठिरहेको उनको भनाइ छ ।

थप :

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता
सरकारलाई दिएको समर्थन कायमै राख्ने रास्वपाको निर्णय, राष्ट्रपतिमा कसलाई सघाउनेमा अनिर्णित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement