१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थी संगठन उत्साही

फाल्गुन २७, २०७९ |पर्वतराज घिमिरे
१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले विद्यार्थी संगठन उत्साही

काठमाडौं । १४ वर्षपछि आगामी "चैत ५" मा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनमा उत्साह देखिएको छ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये आज ५० भन्दा बढीमा मनोनयन दर्ता भएका छन् । केहीमा भने मतदाता विवादका कारण मनोनयन दर्ता कार्यक्रम नै स्थगित भएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पनि विद्यार्थी सङ्गठनहरूले माउ पार्टीकै अनुसरण गरेर तालमेल गरेका छन् । अधिकांश क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुबीच गठबन्धन भएको छ । एमालेसमर्थित अनेरास्ववियु भने एक्लै मैदानमा छ । 

लामो समयपछि निर्वाचन हुन लागेका कारण विद्यार्थी संगठनमा उत्साह देखिएको छ । शनिबार ५० भन्दा बढी क्याम्पसमा मनोनयन दर्ता भएको केन्द्रीय स्ववियु निर्वाचन समितिले जनाएको छ ।

अधिकांशमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भए पनि काठमाडौँको त्रि-चन्द्र, कीर्तिपुरस्थित आयुर्वेद र पोखराको पृथ्वीनारायण क्याम्पसमा मतदाता विवादका कारण मनोनयन दर्ता अवरुद्ध भयो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा भने एकीकृत समाजवादी तथा एमालेनिकट विद्यार्थी समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । 

धनकुटाको एक र गोर्खाको एक क्याम्पसमा भने सहमतिमा पदाधिकारी बाँडफाँट भएको छ । उम्मेदवारविरुद्ध दाबी-विरोध तथा छानबिनका लागि आइतबारसम्मको समय दिइएको छ । 

अन्तिम नामावली सोमबार प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

यो पनि...

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मनोनयन सम्पन्न, धेरैमा नेविसंघ र अखिलको संयुक्त प्यानल
स्ववियु निर्वाचनका लागि हुम्लाको मानसरोवर क्याम्पसमा एकल उम्मेदवारी
स्ववियु निर्वाचन : गोरखा क्याम्पसमा एकल उम्मेदवारी, द्रव्यशाहमा सभापतिका लागि नेविसंघकै २ उम्मेदवार प्रतिष्पर्धामा


Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।