हुम्ला । हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको छ ।
तीनवटा विद्यार्थी संगठन मिलेर स्ववियु निर्वाचनको सबै पदका लागि एकल उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) मिलेर संयुक्त रूपमा पद बाँडफाँट गर्दै एकल उम्मेदवारी दर्ता गराएका हुन् ।
तीनवटै विद्यार्थी संगठनबाट स्ववियु सभापतिमा नेविसंका नरेन्द्र भण्डारीको उम्मेदवारी परेको छ भने सचिवमा अनेरास्ववियु (क्रान्तिकारी) शिवराज फडेराले उम्मेदवारी दिएका छन् । त्यसैगरी कोषाध्यक्षमा अनेरास्ववियुका धनबहादुर भण्डारीको उम्मेदवारी परेको छ । समानुपातिकतर्फको उपसभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) का निस्मा बोहराको एकल उम्मेदवारी परेको छ ।
त्यस्तै सहायक सचिवमा अनेरास्ववियुका चिन बोहरा, खुला र समानुपातिक सदस्यका लागि तीन वटै संगठनमध्ये नेविसंघबाट चार जना र अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबाट तीन-तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा एकल उम्मेदवारी परको भए पनि दाबी-विरोधको कार्यक्रम फागुन २८ र २९ गतेसम्म भएकाले ३० गते मात्र निर्विरोध निर्वाचित स्ववियु पदाधिकारीको औपचारिक घोषणा गरिने छ ।
यसअघि स्ववियु निर्वाचनका लागि पाँच वटा विद्यार्थी संगठन दर्ता भए पनि दुईवटा विद्यार्थी संगठनको तर्फबाट मनोनयन नै परेको छैन ।