स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मनोनयन सम्पन्न, धेरैमा नेविसंघ र अखिलको संयुक्त प्यानल

फाल्गुन २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मनोनयन सम्पन्न, धेरैमा नेविसंघ र अखिलको संयुक्त प्यानल

काठमाडौ‌ । चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पसमध्ये आज अधिकांशमा मनोनयन दर्ता भएको छ ।

शनिबार ५० भन्दा बढी क्याम्पसमा मनोनयन सम्पन्न भएको केन्द्रीय स्ववियु निर्वाचन समितिले जनाएको छ । बाँकी क्याम्पसहरुलाई मनोनयनका लागि आज राति १२ बजेसम्मको समय दिइएको छ । धनकुटाको एक र गोरखाको एक क्याम्पसमा सहमतिमा पदाधिकारी बाँडफाँट भएको छ । पोखराको पृथ्वीनारायण, काठमाडौंको त्रिचन्द्र र कीर्तिपुरको आयुर्वेद क्याम्पसमा भने मतदाताका विषयमा विवाद भएपछि मनोनयन दर्ता रोकिएको छ ।

स्ववियु निर्वाचनका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उम्मेदवारी दर्ता सकिएपछि आजै नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दाबी-विरोध तथा छानबिनका लागि भोलिसम्मको समय दिइएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा मा‌ओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायतले अधिकांश क्याम्पसमा तालमेल गरेका छन् भने एमाले समर्थित अनेरास्ववियुले भने एक्लै चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । 

यसैबीच उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा दुई विद्यार्थी समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । एकीकृत समाजवादी तथा एमालेनिकट विद्यार्थी समूहबीच झडप भएको हो ।

सम्बन्धित समाचार...

स्ववियु निर्वाचन चैत ५ गते (तालिकासहित)

स्ववियु निर्वाचनका लागि हुम्लाको मानसरोवर क्याम्पसमा एकल उम्मेदवारी

मकवानपुरका ८ वटै क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता

स्ववियु निर्वाचन : गोरखा क्याम्पसमा एकल उम्मेदवारी, द्रव्यशाहमा सभापतिका लागि नेविसंघकै २ उम्मेदवार प्रतिष्पर्धामा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.