गोरखा । गोरखा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सबै विद्यार्थी संगठन सम्मिलित एकल उम्मेदवारी दर्ता भएको छ ।
त्रिभुवन विश्वविद्यालयको जिल्लाकै एकमात्र आंगिक यस क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी युनियनसहितको संयुक्त प्यानलको एकल उम्मेदवारी दर्ता भएको हो ।
४ विद्यार्थी संगठन र सम्बद्ध दलहरूको बैठकले सभापति र कोषाध्यक्षसहित ३ सदस्य अखिल क्रान्तिकारीलाई दिने सहमति गरेको हो । त्यस्तै सचिव, सहसचिवसहित ३ पदाधिकारी नेविसंघले र उपसभापतिसहित २ सदस्य अनेरास्ववियुले लिने सहमति भएको हो ।
यसैगरी नेपाल समाजवादी विद्यार्थी युनियनले २ सदस्य लिने सहमति अनुसार सर्वसम्मत रूपमा उम्मेदवारी दर्ता गरिएको छ । नयाँ पदाधिकारीको औपचारिक घोषणा भने चैत ५ गते गरिने गोरखा क्याम्पस स्ववियु निर्वाचन अधिकृत शिवदत्त दवाडीले जानकारी दिए ।
त्यस्तै गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा पनि सभापतिबाहेक अरू पदमा एकल उम्मेदवारी दर्ता भएको छ ।
४ विद्यार्थी संगठनबीच सभापति, कोषाध्यक्षसहित ३ सदस्य नेविसंघले, उपसभापति र सचिवसहित ३ सदस्य अखिल क्रान्तिकारी, सहसचिव र १ सदस्य अनेरास्ववियुले पाउने सहमति भएको छ । त्यसैगरी नेपाल समाजवादी विद्यार्थी युनियनले ३ सदस्य लिने सहमति भएबमोजिम एकल उम्मेदवारी दर्ता भएको हो ।
तर सभापतिमा भने नेविसंघकोतर्फबाट सौनक घिमिरेको उम्मेदवारी दर्ता भएको भए पनि नेविसंघकै प्रमोदजंग कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।