मकवानपुर । चैत्र ५ गते हुने स्ववियु निर्वाचनकालागि शनिबार मकवानपुरका ८ वटै क्याम्पसमा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
मकवानपुरका ८ वटै क्याम्पसमा विभिन्न विद्यार्थी संगठनकोतर्फबाट उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन । माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली काङ्ग्रेनिकट नेवि संघ र राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले आठ वटै क्याम्पसमा भागबन्डा गरेर साझा उम्मेदवार खडा गरेका छन् ।
नेविसंघले ३ वटा क्याम्पसमा, अनेरास्ववियु क्रान्तिकारीले दुईमा र राप्रपाले १ क्याम्पसमा सभापति लिएको छ । यस्तै फरेस्ट्री क्याम्पसमा नेविसंघ र क्रान्तिकारीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् ।
पालुङ बहुमुखी क्याम्पसमा भने सबै दलको सर्वसम्मतमा पदाधिकारी टुङ्गिएको छ । पालुङ बहुमुखी क्याम्पसको सभापति माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले पाएको छ भने नेकपा एकीकृत समाजवादीनिकट (अनेरास्ववियु) , नेकपा एमालेनिकट (अनेरास्ववियु ) र विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठनले पनि गठबन्धन गरेका छन् ।
एमाले निकट अनेरास्ववियुले ८ मध्ये ४ वटा क्याम्पसमा सभापति लिएको छ भने नेकपा एसनिकट अनेरास्ववियुले २ क्याम्पसमा सभापति लिँदा विप्लवनिकट विद्यार्थी संगठनले एउटा क्याम्पसमा सभापति लिएको छ।