सिक्टा सिँचाइ : निर्माण सुस्त हुँदा किसानको खेतमा पुगेन पानी

मंसिर १०, २०८१ |सविता जीसी|जे पाण्डे
सिक्टा सिँचाइ : निर्माण सुस्त हुँदा किसानको खेतमा पुगेन पानी

बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट लगानी अनुसार किसानले लाभ पाउन नसकेको देखिएको छ । अनुगमनमा पुगेको संसद्को पूर्वाधार विकास समितिले आयोजना २० वर्षदेखि कछुवाको गतिमा निर्माण भइरहँदा किसानले लाभ प्राप्त गर्न नसकेको ठहर गरेको हो ।

स्थलगत निरीक्षणमा रहेका सांसदहरूले आयोजनाको औचित्यमाथि नै प्रश्न र शंका उत्पन्न भएको बताएका छन् । १२ अर्ब ८० करोड अनुमान गरिएको सिक्टा सिँचाइ आयोजनाको लागत ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्‍याइएको छ । बर्सेनि लागत बढाइए पनि न कामले गति लिन सकेको छ न त आयोजनाले बजेट खर्च नै गर्न सकेको छ । बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिए पनि अहिलेसम्म ३९.२२ प्रतिशत मात्र भौतिक प्रगति भएको देखिन्छ । निर्माण अवधि बढाउँदै जाने तर किसानले प्रतिफल प्राप्त नगर्ने अवस्था आएको भन्दै अनुगमनमा आएको संसदीय टोलीले आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ ।

दुई दशकअघि सात वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको आयोजना अझै एक दशक नबन्ने पक्का छ । पूर्वी र पश्चिमी गरी दुई वटा मूल नहर रहेको आयोजनामा पश्चिमी नहर ४५.२५ किलोमिटर र पूर्वी नहर ५३.५ किलोमिटर छ । पश्चिमी नहरको शाखा, उपशाखा, प्रशाखाको करिब ६० प्रतिशत काम सकिएको छ भने पूर्वी नहरको ३९.२२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । ४० अर्बभन्दा बढी लागत बढ्दा पनि सिक्टाको पानी किसानको खेतमा नपुग्नु चिन्ताको विषय बनेको यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूको भनाइ छ ।

मूल नहर जोडिने डुडुवा शाखा नहरमा साइफन निर्माण रोकिँदा मूल नहरमै पानी सञ्चालनमा बाधा पुगेको छ । निरीक्षण टोलीले यस्तो अवस्था तत्काल अन्त्य गर्न सरकारलाई निर्देशन दिने भएको छ । 

अनुगमनका क्रममा खहरे खोलाहरुले शमशेरगन्जस्थित मूल नहर भत्काउन लाग्दा समेत बाँके राष्ट्रिय निकुञ्जले अवरोध गरेको पाइएको छ ।

पश्चिमतर्फ भने शाखा, उपशाखा र खेतस्तरका संरचनाको निर्माणसँगै स्तर सुधारको प्रयास गरिएको आयोजनाले जनाएको छ ।


Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।

Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement