
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीसम्बन्धी सर्वोच्च अदालतको फैसला संविधान विपरित भएको दाबी गर्नुभएको छ ।
एमालेको वन तथा वातावरण विभागले पार्टी मुख्यालय च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घन्टाभित्र विश्वासको मत लिनुपर्ने सर्वोच्च अदालतको परमादेशप्रति आपत्ति जनाउनुभएको हो । उहाँले उक्त आदेश संविधान र कानून हेरेर नभई व्यक्ति तथा समूहको अनुहार हेरेर आएको भन्दै आफू आश्चर्यचकित भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकमा संवैधानिक र कानुनी अराजकतावाद हावी भएको आरोप लगाउनुभयो । संविधानविपरितको फैसला सधैं एमालेको भागमा पर्ने गरेको भन्दै अध्यक्ष ओलीले व्यङ्ग्यसमेत गर्नुभयो ।