मधेशका मुख्यमन्त्री यादव : झिसमिसेमा सपथ, बिहानै विश्वासको मत

कूल १०७ सदस्य रहेको मधेशमा यादवलाई कम्तीमा ५४ मत आवश्यक
मंसिर १७, २०८२ |अनिल मिश्र
मधेशका मुख्यमन्त्री यादव : झिसमिसेमा सपथ, बिहानै विश्वासको मत

धनुषा । झिसमिसेमा बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्त हुनु भएका एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले बिहानबिहानै विश्वासको मत लिनु पर्ने भएको छ ।

त्यसका लागि मधेस प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे बस्दैछ । मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि बिहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लाग्नु भएको हो ।

मधेस प्रदेशसभामा कूल १ सय ७ सदस्य रहेकोमा यादवलाई कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ प्रदेशसभा सदस्य छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।

यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा तथा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८ (३) अनुसार सरकार गठन गरेको थियो। तर त्यो प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेका थिए । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।