
काठमाडौं । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले मंगलबार राति सवा एक बजे फुटलहामसँग प्रिमियर लिग सिजनको आफ्नो १४औं खेल खेल्दैछ।
फुलहामको मैदानमा हुने खेलबाट सिटी शीर्षस्थानको आर्सनलसँग अंकदुरी कम गर्ने योजनामा हुनेछ भने फुलहाम घरेलु मैदानमा बलियो पाहुना टिमलाई हराउने योजनामा छ। प्रिमियर लिगमा मिश्रित प्रदर्शन गरिरहेकाले चिन्तित फुलहाम शनिबार टोटनह्यामलाई २-१ ले हराएको उत्तम नतिजाको उर्जा लिएर म्यानचेस्टर सिटीको चुनौती सामना गर्नेछ।
सिल्भाको टोलीले १३ खेलबाट १७ अंक जोडेको छ। पछिल्ला आठ खेलमध्ये मात्र तीन खेल जित्न सके पनि घरेलु रंगशालामा उनीहरूको प्रदर्शन प्रभावशाली छ। उसले ६ घरेलु खेलमा चार जित, एक बराबरी र एक मात्र हार व्यहोरेको छ। दोस्रो स्थानको सिटीले यस सिजन अपेक्षित प्रदर्शन गर्न सकेको छैन।
१३ खेलबाट २५ अंक जोडेको ग्वार्डिओलाको टोलीले आठ जित, एक बराबरी र चार हार भोगिसकेको छ। सिटीको आक्रमण बलियो देखिए पनि रक्षापंक्तिको समस्या र अवे मैदानको खराब फर्मले ऊ अहिले निर्णायक क्षणमा छ। पछिल्लो खेलमा न्यूक्यासल विरुद्ध २-१ को हारले यो कमजोरी झन् प्रस्ट बनाएको थियो।
यद्यपि लिड्सविरूद्ध ३-२ को नाटकीय जितले सिटीलाई आत्मविश्वास भने दिलाएको छ। टिमको सबै पक्ष हेर्दा सिटी नै बलियो पक्ष मानिन्छ। यी दुई टिमबीचका पछिल्ला पाँचै भेटमा सिटी विजयी भएको छ। त्यसैगरी मंगलबार राति नै ११ औं स्थानको बर्नमथले १४ औं स्थानको एभर्टनको सामना गर्नेछ।
त्यसैगरी बिहान २ बजे हुने खेलमा टोटेनह्यामले न्युकासल युनाइटेडको सामना गर्नेछ। लिगको १२औं स्थानको टोटेनहम आजको जितसँगै पुनरागमन गर्ने योजनामा छ। तर उसले लगातार राम्रो प्रदर्शन गर्न नसक्दा अहिलेसम्म १८ अंक मात्रै जोड्न सकेको छ।