पहिरो र लेदोका कारण वीपी राजमार्ग पूर्णरुपमा बन्द, इलमाका दुई सडक अवरुद्ध

मुग्लिन नारायणगढ सडक खण्डमा सडकको अवस्था बुझेर यात्रा गर्न अनुरोध
कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिरो र लेदोका कारण वीपी राजमार्ग पूर्णरुपमा बन्द, इलमाका दुई सडक अवरुद्ध

काठमाडौं । बीपी राजमार्गको विभिन्न स्थानमा आवागमन अबरुद्ध भएको छ । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ बेशी, रोशी–११ डालाबेशी, तथा रोशी–९ बिरुवाडाँडा, बोक्सीकुना र नार्के क्षेत्रमा पर्ने विपी राजमार्गका विभिन्न खण्डहरूमा माथिबाट लेदो र ढुंगा खस्दा सडक दुबै तर्फी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । 

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थलमा पुगेर सडक खोल्ने प्रयास जारी रहेको जनाएको छ । तर लगातार वर्षा र भीरालो भू–भागका कारण काममा कठिनाइ आइरहेको र जोखिम अझै उच्च रहेको बताइएको छ ।

उता, अविरल वर्षाले फेरि सडकमा क्षति पुर्‍याउन थालेपछि इलामका दुई मुख्य बाटोहरु बन्द भएका छन। मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डमा सडक भासिन, चिरिन र दबिन थालेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको इलाम प्रशासनले जनाएको छ। त्यस्तै, तिल्केनी–सिमलगोलाइ–शिल्पुर सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म यी दुबै सडक खण्ड हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जानकारी गराएको छ।

यसैबीच, मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन । सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स-साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.