
काठमाडौं । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव भोलि शनिवारबाट कमजोर हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। महाशाखाले हाल कोशी, मधेस , बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
निरन्तर झरीका कारण नदीतटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले अत्यावश्यकबाहेक घरबाट ननिस्किन स्थानीय प्रशासनले सुझाएको छ । त्यस्तै भोलि शनिबारसम्म धान नकाट्न किसानहरुलाई आग्रह गरेको छ ।