विपत् व्यवस्थापन समिति कागजमै सीमित

चैत्र ४, २०८० |उपेन्द्र ठाकुर
विपत् व्यवस्थापन समिति कागजमै सीमित

वीरगन्ज । विपत्‌का रुपमा लिइने आगलागी (डढेलो) नियन्त्रण तथा व्यवस्थापनका लागि स्थानीय तहमा त्यसका प्रमुख संयोजक रहने गरी स्थानीय तह विपत् व्यवस्थापन समिति गठन गर्ने कानुनी प्रावधान छ । तर अधिकांश स्थानीय तहहरुले विपत् व्यवस्थापन समिति नै गठन गरेका छैनन् । गठन गरिएका व्यवस्थापन समिति पनि कागजमै सीमित छन् ।

गर्मीयाममा तराईमा चल्ने हावाहुरी जंगल र बस्तीमा आगलागी हुने मुख्य कारण हुन् । यसबाहेक जंगलबीच निर्माण भएका सडकमा गुड्ने सवारीका साधनको साइलेन्सरबाट निस्कने आगोको झिल्कोसँगै गाईबाख्रा चराउन जाने स्थानीय र यात्रुले चुरोट-बिँडी खाएर फालेको आगोको ठुटाले जंगलमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

जंगलमा लागेको आगो बस्तीसम्म पुग्दा बर्सेनि धनजनको क्षति पनि हुने गरेको छ । तीन तहको सरकारको अवधारणअनुरुप हरेक गाउँ टोल र वडा र त्यससँगै जोडिएको वन जंगल पनि स्थानीय तहकै कार्यक्षेत्रभित्र पर्छ । तर आगलागी जंगलमा होस् वा बस्तीमा, आगो नियन्त्रण गर्ने अल्पकालीन र दीर्घकालीन योजना स्थानीय तहहरुको प्राथमिकतामा परेको देखिँदैन ।

विपत्‌का रुपमा लिइने आगलागी (डढेलो) नियन्त्रण तथा व्यवस्थापनका लागि केन्द्रमा गृह मन्त्रालय र जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला विपत् व्यवस्थापन समिति छ भने स्थानीय तहमा त्यसका प्रमुख संयोजक रहने गरी स्थानीय तह विपत् व्यवस्थापन समिति गठन गर्ने कानुनी प्रावधान छ । तर अधिकांश स्थानीय तहहरुले विपत् व्यवस्थापन समिति नै गठन गरेका छैनन् । गठन गरिएका व्यवस्थापन समिति पनि कागजमै सीमित छन् ।

विपत् व्यवस्थापनमा तीन तहमै संरचना भए पनि यसकारण भएनन् प्रभावकारी

वनमा लाग्ने डढेलो नियन्त्रणका लागि निकुञ्जको वन क्षेत्र भए निकुञ्ज र त्यसअन्तर्गत रहेका वन उपभोक्ता समिति र राष्ट्रिय वन क्षेत्र भए डिभिजिन वन कार्यालयसँगै वन उपभोक्ता समूहहरुको भूमिका नै महत्त्वपूर्ण हुन्छ । यसका अलावा प्रमुख जिल्ला अधिकारी संयोजक रहने वन सुरक्षा समन्वय समिति पनि वन डढेलो नियन्त्रणका लागि उत्तिकै जिम्मेवार मानिन्छ ।

वनमा लागेको डढेलो नियन्त्रणका लागि फायरलाइनको निर्माण र सरसफाइ गर्ने गरेको वन कार्यालयहरुले आपत्तकालीन आगो नियन्त्रणका लागि सानासाना पानी बोक्ने ट्यांकरहरुको पनि व्यवस्था गरेको देखिन्छ । तर हरेक वर्ष हुने आगलागीको अनुपातमा आगो नियन्त्रण गर्ने साधन र बजेट पर्याप्त नहुँदा जंगलमा लागेको डढेलो नियन्त्रणमा हरेक वर्ष समस्या हुने गरेको छ ।

यो पनि...

डढेलोको प्रकोप : पूर्वतयारी, राहत र उद्धार नहुँदा जनधनको क्षति बढ्यो


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।