एनपीएलको प्लेअफबाट बाहिरिने पहिलो टिम बन्याे कर्णााली याक्स

मंसिर १६, २०८२ |खेल ब्युरो
एनपीएलको प्लेअफबाट बाहिरिने पहिलो टिम बन्याे कर्णााली याक्स

काठमाडौं । कर्णााली याक्स नेपाल प्रिमियर लिग-एनपीएलको प्लेअफबाट बाहिरिने पहिलो टिम बनेको छ। 

मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएपछि याक्स समूह चरणबाटै बाहिरिएको हो। पोखराले दिएको दुई सय २ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स एक सय ६७ रनमा समेटिएपछि पोखराले दास्रो जित हासिल गर्‍यो।

लिगका यसअघिका खेलमा कन्सिस्टेन्ट ब्याटिङ गर्न नसक्दा र बलिङमा खर्चिलो भएपछि पराजित हुँदै आएको पोखराले मंगलबार कर्णाली याक्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको हो। पोखराले निर्धारित २० ओभरमा दुई विकेट मात्रै गुमाएर दुई सय १ रन बनाएको थियो। ओपनिङमा कुशल भुर्तेलले एडम रसिङ्टनसँग ३४ रनको मात्रै साझेदारी गरे। मंगलबार ओपनिङमा फर्किएका उनी १८ रन बनाएर आउट भएका थिए।

त्यसपछि रसिङ्टन र जेसन रोयले एक सय २७ रनको साझेदारी गरेका थिए। जारी प्रतियोगितामा यो दोस्रो ठूलो साझेदारी हो । यसभन्दा धेरै विराटनगरका मार्टिक गप्टिल र लोकेश बलमे एक सय ३२ रनको साझेदारी गरेका थिए। लिगमा आफ्नो पहिलो खेल खेलेका जेसनले ३४ बलमा ४६ रन बनाएका हुन्। 

उनलाई नन्दन यादवले प्रियांकको हातबाट क्याचआउट गराएका हुन्। रसिङ्टनले खेलमा ५८ बलमा एक सय ८ रनको शतकीय पारी खेलेका थिए। अन्तिममा धनन्जय लक्षणले २३ रन बनाएर खेललाई उत्कृष्ट नोटमा समापन गरेका हुन्। जारी प्रतियोगितामा २ सय भन्दा धेरै रन बनाएको यो दोस्रो पटक हो।

कर्णालीका नन्दन यादव र मार्क वाटले एक- एक विकेट लिएका थिए। जवाफमा पोखराका बलरले कर्णालीका खेलाडीलाई लामो पार्टनरसिप गर्न नदिएपछि याक्स एक सय ६७ रनमा अलआउट भएको हो। ओपनर मार्क वाटले ३४ बलमै ५९ रन प्रहार गरेर कर्णालीलाई राम्रो सुरूआत दिलाउन खोजेका थिए। तर त्यसअघि नै प्रियांक पञ्चाल १६ र जाकृष्ण काल्सावाला ६ रनमा आउट भए। 

तीन विकेट गुमाउँदा ९५ रन बनाइसकेको अवस्थामा पुगे पनि कर्णालीले त्यसपछि टिकेर खेल्न सकेन। पवन सर्राफ १९, नजिबुल्लाह जद्रान २४, गुल्सन झा नौ, सोमपाल कामी १३ र दिपेन्द्र रावत १० रनमा नै आउट भएका थिए। बलिङमा सुधारिएको प्रदर्शन गरेको पोखराका लागि धनन्जय लक्षण र रिषी धवनले समान तीन-तीन विकेट लिएका थिए। 

जारी लिगमा कर्णालीको यो पाँचौ हार हो। अब उसको एक खेल मात्रै बाँकी छ। लिगको पाँचौ खेलमा दोस्रो जित निकालेर पोखराले भने अर्को चरणमा पुग्ने आशा जिवितै राखेको छ। एनपीएलमा भोलि ४ बजे विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्नेछ।