डढेलोको प्रकोप : पूर्वतयारी, राहत र उद्धार नहुँदा जनधनको क्षति बढ्यो

चैत्र ४, २०८० |पोषनाथ अधिकारी
डढेलोको प्रकोप : पूर्वतयारी, राहत र उद्धार नहुँदा जनधनको क्षति बढ्यो

धादिङ । गर्मी बढेसँगै पछिल्लो समय देशभर दैनिकजसो आगलागी र डढेलोका घटना बढ्न थालेका छन् । तर यसको नियन्त्रण अहिले मुख्य चुनौतीको रूपमा देखिएको छ । एकातिर डढेलोको कारण वन विनाश भइरहेको छ भने अर्कोतर्फ डढेलो बस्तीमा फैलिँदा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको छ ।

उपभोक्ता वन संरक्षणमा लागे पनि डढेलो लाग्दा निभाउने उपकरण र व्यवस्थापनमा सरकारको ध्यानै पुगेको छैन ।

शनिबार मात्र धनकुटा, दोलखा, मोरङ, भोजपुर, धादिङसहित देशभरका ३४८ जंगलमा डढेलो लाग्यो । भोजपुरको हतुवागढी गाउँपालिका ७, पात्लेपानीमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको ज्यान गयो भने जंगलको डढेलो बस्तीमा पस्दा भोजपुर र रामेछापमा ठूलो क्षति भयो ।

देशभर २२ हजार सामुदायिक वन र झन्डै सोही संख्यामा रहेको कबुलियती र निजी वन छन् । गत वर्ष तीन हजार १४२ वनमा ठुला आगलागी भएको थियो भने आगलागीमा ११ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । आगो लाग्न नदिन सामुदायिक वनका उपभोक्ताले विभिन्न उपाय अपनाए पनि आगो लाग्दा निभाउने उपकरण नहुँदा निराश भएर टुलुटुलु हेर्न बाध्य छन् ।

झन्डै ६४ प्रतिशत आगलागी मानिसले घाँसको आशामा, चोरीसिकार र जंगली जनावर धपाउने मनसायले जानीजानी लगाउने गरेको पाइएको छ । यसैगरी ३२ प्रतिशत अचानक वा दुर्घनाबाट वनमा आगलागी हुने र ४ प्रतिशत स्रोत थाहा नभएकोबाट वनमा आगलागी हुने गरेको छ । साथै ८० प्रतिशतभन्दा बढी आगलागी मध्य फागुनदेखि मध्य वैशाखसम्म लाग्ने गरेको छ । वन डढेर खरानी हुँदा मानवीय क्षतिसँगै वन्यजन्तुसमेत जोखिममा पर्ने गर्छन् । तर, यसको रोकथामका लागि सरकारी कार्यक्रम प्रभावकारी छैन ।

औसतमा हरेक वर्ष ८० घर जंगलमा लागेको डढेलोबाट नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुनेगरेको छ । आगलागीले कार्बन उत्सर्जन मात्र बढाएको छैन मानव स्वास्थ्यमा समेत गम्भीर समस्या देखिएको छ । दक्ष जनशक्ति तथा पर्याप्त उपकरणसहित डढेलो नियन्त्रण गर्ने छुट्टै संरचना बनाउन राज्य उदासीन बन्दा उपभोक्ताले मात्र डढेलो नियन्त्रण गर्न सक्ने अवस्था नरहेको दोलखाका वन संरक्षण अभियन्ता उद्धवप्रसाद पोखरेलको भनाइ छ ।

खडेरी लम्बिने हो भने देशभरको जंगलमा डढेलोका घटना अझै बढ्ने देखिन्छ यसले एकातिर वन विनाश हुनेछ भने अर्कोतर्फ थप मानवीय र भौतिक क्षति गराउन सक्छ ।

यो पनि...

डढेलो नियन्त्रण र व्यवस्थानमा प्रदेश सरकार सुस्त

विपत् व्यवस्थापन समिति कागजमै सीमित

डढेलोको प्रकोप : पूर्वतयारी, राहत र उद्धार नहुँदा जनधनको क्षति बढ्यो

बढ्दै आगलागीका घटना, विपत् प्राधिकरणको भूमिका के ? (अन्तर्वार्ता)


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।