निकुञ्जका बाघ किन मानवबस्ती पस्दैछन् ?

पुस १४, २०८० |जे पाण्डे|सविता जीसी
निकुञ्जका बाघ किन मानवबस्ती पस्दैछन् ?

बाँके । पश्चिम तराईका बाँके र बर्दिया दुईवटै राष्ट्रिय निकुन्जका बाघहरु जंगलबाट मानव बस्तीसँगै राजमार्गतिर आउन थालेका छन् । बाघको सँख्या बढेसँगै सिकार खोज्न र पानीको तिर्खा मेटन नहर र पानीको स्रोत खोज्ने क्रममा मानिस आउजाउ गर्ने व्यस्त राजमार्गमा देखिन थालेका हुन् । यता निकुन्जका वन्यजन्तु संरक्षण र सुरक्षा गर्न ६ महिनासम्म जंगलभित्रै बस्ने गरी सैनिक व्यारेकबाट गस्तीमा खटेका छन् ।

सिकार खोज्दै मानव बस्ती भएको क्षेत्र बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित अशोक सामुदायिक वनमा असोज ९ गते एउटा पाटेबाघ भोकै मरेको अवस्थामा फेला पर्‍यो । मंसिर ११ गते बर्दिया बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिकै बाघले झम्टिदा एकजना भारतीय नागरिक सख्त घाइते भए । त्यसअघि असोज १९ गते खुरखुरे फाँटाका ४ वर्षीय बालक साहिल सुनार बाघले झम्टेर घाइते भएपछि उपचारार्थ नेपालगन्ज शिक्षण अस्पताल ल्याइएको थियो । सिकार खोज्न मावनबस्ती र राजमार्ग तिर बाघ विचरण गर्न थालेका यी केही प्रतिनिधिमुलक घटना मात्र हुन् । निकुन्जका बाघ व्यस्त राजमार्ग र बस्ती नजिक आउने क्रम बढ्दै गएको छ ।

राप्तीसोनारीका स्थानीय हस्तबहादुर वली भन्छन्, बाघले पनि त्यत्तिकै यहाँ बाख्रा खाने, गाईगोरु खाने गरिरहेको छ । कहिलेकाहीँ मान्छे पनि यता टिक्ने गरिरहेको छ । त्यसकारण यो जंगलमा बाघ पनि छ । बाटोमा बाघ आउने गरेको छ ।

कतिपय बाघ बुढो भएकाले पनि जंगलमा सिकार गर्न नसक्दा सहज सिकार खोज्दै मानवबस्ती नजिक आउने गरेको निकुन्जका अधिकारीले बताएका छन् । पछिल्लो गणनाअनुसार बाँकेमा २५ र बर्दियामा १ सय २५ बाघ छन् । तीमध्ये कतिपय बुढा भइसकेका छन् । बाघको सरदर आयु १८ वर्षसम्म हुने गर्छ । पछिल्लो पटक बाँकेमा मरेको बाघ निकै अशक्त र पेट पनि खाली थियो ।

बाँके राष्ट्रिय निकुन्जका प्रमुख मनोजकुमार साहले भने, यसको मूल कारण हिजोको अवस्थामा अहिले बाघको सङ्ख्या बढेको छ । चारवटाबाट अहिले २५ भन्दा बढी संख्यामा बाघ रहेको छ । त्यसैले गर्दा अहिले बाघको सङ्ख्या बढ्दै जाँदा मानवसँगको द्वन्द पनि बढ्दै गएको देखिन्छ ।

बुढा र अशक्त बाघ राजमार्ग र बास्ती तिर विचरण गर्नुको अर्को कारण निकुन्ज नजिक पानीको नहर भएर पनि हो। उनीहरु त्यहाँ तिर्खा मेट्न आउने गर्छन् । जंगलको बीचमा राजमार्ग भएकाले पनि बाघ एक तिरबाट अर्का तिर जाँदा आउँदा मानिससंग जम्काभेट हुँदै आएको छ । अहिले निकुञ्ज सुरक्षाका लागि अर्जुनवाण गणका सैनिक बन्दोबस्तीका सामग्रीसहित जंगल गस्तीमा खटिएका छन् । यी सैनिकहरु बाँके, दाङ र सल्यान जिल्लामा पर्ने निकुन्जसंग जोडिएको जंगलका विभिन्न ४ ठाँउमा क्याम्प बनाएर ६ महिना बस्ने छन् ।

बाँके र बर्दिया दुबै निकुन्जमा बाघको संख्या बढ्दै जानु र विचरण गर्ने क्रम पनि तीव्र हुँदा जोखिम बढेको त छ नै निकुन्ज क्षेत्र नजिक पर्ने बस्तीका बासिन्दा र राजमार्गका यात्रु समक्ष सुरक्षा चुनौती पनि चुलिँदै गएको छ । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

Image

सविता जीसी

जीसी बाँकेस्थित कान्तिपुर टेलिभिजनकी क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement