बाँदरको बन्ध्याकरण कसरी गर्ने ?

भाद्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
बाँदरको बन्ध्याकरण कसरी गर्ने ?

काठमाडौं । देशमा भ्रष्टाचारीले जति दुःख दिएका छन्, बाँदरले किसानलाई दिएको दुःख त्योभन्दा थोरै छैन । गाउँ-गाउँबाट बाँदरको चकचक र बिझ्याइँ सहन नसकी खेतबारी बाँझै छाडेर बसाइँ हिँड्नेको ताँती छ । कुकुर पालेर भएन । गुलेली हान्दा पनि भएन । महावीर पुनले आविष्कार गरेको नक्कली बन्दुक पड्काउँदा पनि बाँदर भागेनन् । आखिर के होला त बाँदरको बिगबिगीबाट बच्ने उपाय ?

बाँदरको समस्याले सिंहदरबारमा समेत प्रवेश पाएको छ । शायद यही भएर हुनुपर्छ, आइतबार प्रतिनिधिसभाअन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरलाई कसरी तह लगाउने भन्नेबारे सांसदहरुले छलफल गरे ।

समितिकी सभापति आरजु देउवा राणाले बाँदरको बन्ध्याकरण गर्न सके समस्या समाधान हुन सक्थ्यो कि भन्ने प्रस्ताव गरिन् । उनले समितिको बैठकमा भनिन्, ‘बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रोजस्तै थियो रे, परिवारनियोजन गरेर दुई-तीन वर्षमा कम भयो । कृषि उत्पादन मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

आखिर बाँदरले किसानलाई दिइरहेको दुःखबाट कसरी मुक्ति पाउने ? के बन्ध्याकरण गरेर बाँदरको समस्या समाधान गर्न सकिएला ? रुखको टुप्पो र भीरको ओढारमा लुक्ने बाँदरलाई कसरी समातेर बन्ध्याकरण गर्ने ? आखिर कसरी हुन सक्छ, बाँदरको पिरलोबाट उन्मुक्ति ? हामीले यस विषयमा बाँदर विज्ञ प्रा.डा. मुकेश चालिसेसँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ- सन् १९९१ देखि बाँदरको अध्ययनमा लागेका चालिसेसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी :

बाँदरले किसानलाई निकै सतायो । देशभरको मध्य पहाडी क्षेत्र खाली हुन थाल्यो । कसरी व्यवस्थापन गर्ने भन्ने छलफल चलिरहँदा बन्ध्याकरण गर्नुपर्छ भनेर चर्चा चलेको छ । यो सम्भव देख्नुहुन्छ ? बाँदरको व्यवस्थापन कसरी गर्न सकिएला ?

पहिलो कुरा के बुझ्न जरुरी छ भने- यो बर्खा महिना भनेको बाँदरको ऋतुकाल हो । यो भनेको भालेपोथी लाग्ने । अलि छिटै भालेपोथी लागेको छ भने बच्चा पाउने । यसले गर्दा बाँदरको संख्या बढेको जस्तो पनि लाग्छ ।

अर्को, यो बर्खा महिना भनेको बाँदरका लागि प्रिय । सबैभन्दा सजिलो खानेकुरा भनेको मकैको उत्पादन । मकैको घोगा लागेको हुन्छ । दुधिलो मकै हुन्छ । हाम्रो देशमा खेतभन्दा बारी धेरै भएको हुनाले मकै लगाउने चलन छ । यो बर्खे बालीमा फलफूलदेखि तरकारी र मकैसम्म पाइन्छ । बाँदर जंगलमा खोजेर खानुभन्दा तयारी भएको खानेकुरा खान चाहन्छ । जसरी सहर-बजारका मानिसले घरमा बनाएर खानुभन्दा रेडिमेड अथवा जंक फुड खाएजस्तो उनीहरु पनि त्यसमा आकर्षित भएका छन् ।

यो आकर्षित हुनुको मनोविज्ञान के हो भने- एकताका जंगल फाँडेर भए पनि खेती गर्ने, गुल्जार गर्ने भन्ने नेपालमा चलन भयो । जसले गर्दा सीमान्त क्षेत्रसम्म खेतीपातीको विस्तार भयो । तर पछिल्लो समय फेरि सजिलैसँग पैसा कमाउने नाममा पढेलेखेका पनि विदेश जाने । नपढेका पनि शारीरिक श्रम गर्न विदेश जाने भए । त्यसपछि गाउँठाउँमा बूढाबूढी र केटाकेटी बाँकी रहे । अब खेतीको पहुँच मानिसले छाड्दै आयो । अब मानिसले गाउँघरको नजिक मात्र खेती गर्न थाले । बानी लागिसकेका बाँदर, बँदेल, दुम्सीलगायत अरु जनावरहरु विस्तारै खानेकुरा कहाँ पाइन्छ भन्दै गन्ध सुँघ्दैगाउँको नजिक आए ।

अर्को विकास नेपालमा के भयो भने- काम भए पनि नभए पनि, त्यसको महत्त्व भए पनि नभए पनि हातहातै मोबाइल छ । जसले गर्दा हातहातबाटै कम्प्लेन गर्न पाइयो । र, जनप्रतिनिधिहरुलाई मेरो मकै सोत्तर बनायो, खायो, सकियो ल क्षतिपूर्ति ले । पछिल्लो समय मानिसको त क्षतिपूर्ति लिने बानी परेको छ । यसले गर्दा विकासका नाममा वडा-वडामा गएका बजेटहरुलाई व्यवस्थापन गर्दा यस्ता विभिन्न खालका जनावरहरुलाई नियन्त्रण गर्ने, पशुहरुलाई नियन्त्रण गर्ने अथवा वन्यजन्तुलाई नियन्त्रण गर्ने भनेर पनि बजेट छुट्याउन थाले । यी सबै मनोविज्ञानका बीचमा मानिसहरुले ठूलो स्वरमा कराए ।

हो, नोक्सानी छ । तर हामीलाई व्यवस्थापन गर्ने सबैभन्दा ठूलो कुरा, हरेक क्षेत्रमा कति नोक्सानी भएको छ ? वास्तविक पीडामा परेका को हुन् ? त्यो कुरा पत्ता लगाएर तिनीहरुको राहतका लागि काम गरे हुन्थ्यो । तर, पछिल्लो भूकम्पको बेलादेखि नै हाम्रो समाजमा राहत वितरण पनि एक किसिमको हँस्यौली भयो । किनभने, भूकम्पमा साँच्चिकै घर भत्किएका, बाटोमा आएका र प्लास्टिक ओढेर बसेका मानिसहरुले राहत पाएनन् । जसका चर्पी मात्रै अलिकति चर्केको छ, उनीहरुले दशौं लाख पाए । यो कुरा यहीँ काठमाडौंमा भयो । बाहिर भयो, सबैतिर भयो ।

यसले गर्दा मेरो सल्लाह के हो भने पहिलो त बाँदरको नोक्सानीको वास्तविक संख्या कति छ ? कहाँ छ ? उनीहरुको स्वभाव के हो ? उनीहरुले के-केलाई आक्रमण गर्न सक्छन् ? त्यो कुराको लिखत हुनुपर्यो । त्यसका आधारमा व्यवस्थापन गर्नुपर्यो ।

जस्तो- पशुपति र स्वयंभूमा फूलमाला चढाउने र नैवेद चढाउनेलाई आक्रमण गर्छ भने त्यसले बालीनालीमा गएर नोक्सान गरेको छैन । तर, त्यहीँ पर साङ्ले खोलामा होस् कि अथवा नागार्जुनको छेउमा होस्, अथवा बझाङमा होस् कि, बाजुरा, डडेलधुरामा होस् कि, ओलाङ्चुङगोलामा होस् वा मकालु-बरुणमा होस्, यिनीहरुले मकै बारीमा आक्रमण गरेका छन् ।

मकैबारीमा मात्र होइन, बाँदर सिक्न सक्ने भएर, मैले नै आफैंले संखुवासभामा मकै नलगाएर अलैंची लगाऔं भन्दा दुई वर्षसम्म खाएनन् । हामीले स्थानीय किसानसँग के सल्लाह गर्यौं भने- उसो भए सबैले अलैंची लगाऔं । अरु कुनै बाली नलगाऔं । दुई वर्षपछि उनीहरुले खानेकुरा अरु केही नपाएपछि अलैंची पनि खान थाले ।

नोक्सानी भएको छ भने सामूहिक रुपमा कति नोक्सानी भएको छ, त्यसलाई नोक्सानी नहुनेले पनि क्षतिपूर्ति गरौं । यो सरकारसँग मागेर पार लाग्दैन । फेरि सरकारले पनि राम्रोसँग गर्दैन । त्यसपछि गाउँभरिकाले एउटै बाली लगाए । जंगलको छेउ-छेउमा त नोक्सान अलिकति भयो तर गाउँको बीचमा, खेतीको बीचमा त भएन । त्यसले गर्दा उत्पादन भएकोबाट क्षतिपूर्ति गर्नलाई किसानहरुले स्थानीय स्तरमै भएको वास्तविक क्षतिको क्षतिपूर्ति गरेर अहिले राम्रो काम गरेका छन् ।

त्यसकारण मेरो सल्लाहमा सबभन्दा पहिला त बाँदरको जनसांख्यिक आँकडा कति हो ? कहाँ-कहाँ कस्ता जातका बाँदर छन् ? नेपालमा तीन जातका र ६ वटा उपजातका बाँदर छन् । तिनीहरुमध्ये कुनचाहिँले दुःख दिएको हो, पहिला त्यो छुट्याऔं ।

दोस्रोमा- कुन ठाउँमा कतिवटाले दुःख दिने हो ? त्यसका अगुवा के हुन् ? नाइके को हो ? किनभने जनावर (बाँदर) को समाज र मान्छेको समाज उस्तै हो । मान्छे एउटा चोर भयो भन्दैमा देशभरि चोर हुँदैन । त्यस्तै एउटा समूह पनि एउटा बदमास खालको, आक्रमण गर्न रुचाउने, चिथोर्न रुचाउने एउटा, दुईवटा हुन्छन् । अरु हुँदैनन् ।

यसरी छुट्याऔं । अहिले नेपाल सरकारले साना-साना चिडियाखानाको अवधारणा पनि ल्याएको छ । यदि त्यस्तो छ भने बदमासहरुलाई जम्मा गरेर एउटा सानो-सानो चिडियाखाना बनाऔं न । किनभने, राजनीतिक हिसाबले ७ वटा प्रदेश र ७७ वटा जिल्ला भनिएको छ भने ती सातवटा प्रदेशमा सातवटा वन्यजन्तु उद्धार केन्द्र बनाऔं । त्यसपछि बदमासलाई मात्र ल्याएर राखिदिउँ । त्यसो भए के हुनेभयो भने सोझाहरु बाँकी रहने भए । एकातिर त्यो गरौं ।

अर्कोतिर, हामीले वनजंगलबाट हामीलाई चाहिने घाँस, दाउरा ल्याउँछौं । जस्तो- हामीलाई मन पर्ने देब्रे घाँस हो, हाम्रा गाई-बाख्रालाई देब्रे मनपर्छ । देब्रे काट्दा कानुन केही पनि लाग्दैन । बाँदरलाई पनि देब्रे घाँस नै मनपर्छ । बाँदरलाई कालीगेडी मनपर्छ, हामीले पनि कालीगेडीको काठ ल्याउँछौं । हामी जामुन खान्छौं, उनीहरु पनि जामुन खान्छन् । अहिले त के भयो भने, विभिन्न सामुदायिक वनहरुमा पनि काम लाग्ने काठहरु छन् भने त्यसलाई काटेर बेच्ने चलन आयो । त्यसले गर्दा बाँदरको खानेकुरा कम भयो । एकातिर वनलाई व्यवस्थापन गरौं । अर्कोतिर बाँदरको संख्या पत्ता लगाऔं र बदमासहरुलाई मात्रै अथवा नराम्रा, गलत चरित्र भएकाहरुलाई मात्र समातेर नियन्त्रण गरौं ।

नेपालमा धेरै दुःख दिने भनेको रातो बाँदर हो । यो रातो बाँदर संसारभरि नै हाम्रो देशमा मात्र होइन- भारतमा, बंगलादेशमा, थाइल्यान्डमा, चाइनामा, जापानमा, अमेरिकामा, युरोपका देशहरुमा औषधि विज्ञानमा प्रयोग हुन्छ । भारतमै पनि १०-१५ हजारको संख्यामा समातेर औषधिका रुपमा प्रयोग गरिन्छ । त्यो भनेको औषधि उत्पादन भइसकेपछि फाप-अफाप हेर्नका लागि हो । तपाईं-हाम्रा बाआमाहरुले खाने, तपाईं-हामीले खाने- टाउको दुखेको, मुटु दुखेको, फोक्सो दुखेको अथवा प्रेसरको, मिर्गौला सम्पूर्ण रोगहरुको औषधि पहिला जनावरमा परीक्षण गरेर मात्र मानिसलाई सिफारिस हुन्छ । जनावरमा पहिला-पहिला सँगुरलाई, खरायोलाई अथवा घोडालाई गरिन्थ्यो भने पछिल्लो खेपमा वैज्ञानिकहरुले हामीसँग धेरै हिसाबले मिल्ने भएको हुनाले बाँदरमा परीक्षण गर्छन् । बाँदरमा पनि छिटोछिटो ब्याउने, सजिलो र हाम्रो शरीरको रगतको गुणसँग मिल्ने भएको हुनाले रातो बाँदर भन्छन् ।

हाम्रो शरीरमा आरएच फ्याक्टर भनिन्छ । रगत जचाउनुस् तपाईंले सामान्य प्रयोगशालाले पनि आरएच फ्याक्टर पनि निगेटिभ-पोजेटिभ भन्छ रगतको समूह । त्यो आरएच भनेको रे-सर्स भन्छ । रे-सर्स भनेको रातो बाँदर भनेको हो । रातो बाँदरको गुण हाम्रो रगतमा छ । त्यसकारण यो रातो बाँदरलाई हामीले औषधि परीक्षणमा प्रयोग गरौं ।

सातवटा प्रदेशमा सातवटा प्रयोगशाला बनायो भने नेपाल सरकारले राजस्व पनि उठ्ने, औषधि पनि परीक्षण हुने, अनाहकमा हामी मर्दैनौं । किनभने, यही कोरोनाकालमा हामीले रातो बाँदरमा परीक्षण गरेको भए र यहीँ भ्याक्सिन पत्ता लगाएको भए यत्रा मानिस मर्दैन थिए । तपाईं-हाम्रा आफन्त कति मरे कति । यसलाई उपयोग गरेदेखि यो मोहोर हो । उपयोग नगरेपछि यस्तै दुःख दिने फोहोर हो ।

अर्को मनोविज्ञान के छ भने- साउनदेखि असोजसम्म बाँदर, बँदेलको कुरा खुब आउँछ । अब मंसिर, पुस लागेदेखि कसैले कुरै गर्दैन । किनभने यतिखेर बाँदरले दुःख दिएको देखिन्छ । उतिखेर दुःख दिनलाई खेतबारीमा केही पनि हुँदैन । त्यसैले त्यो बेलामा कुरा उठ्दैन । तपाईंले पोहोर-परार, १० वर्षको पत्रिका हेर्नुस् यो बर्खा महिनामा जहिल्यै बाँदरका कुरा, जहिल्यै बँदेलका कुरा, जहिल्यै दुम्सीका कुरा अनि जब हिउँद लाग्छ यो विषयमा कुरा हुँदैन ।

हाम्रो देशमा राजनीतिक गर्नेहरुले पनि यसै गरिरहेका छन् । जब कुरा उठ्छ- कोही निर्यात गर्ने भन्छ, कोही डलर कमाउने भन्छ, कोही परिवार नियोजन गर्ने भन्छ । ए बाबा बाँदरलाई समात्न सकिन्छ ? बाँदर त यस्तो जान्ने जात हो, जसले एउटाले थाहा पाएपछि अरु त्यहाँबाट भागिहाल्छन् । तपाईं कतिवटा बाँदरलाई समातेर परिवार नियोजन गर्ने ? यो असम्भव कुरा हो । सम्भवै छैन ।

व्यापारिक हिसाबले हुँदैन, बरु राज्यका तर्फबाट राजस्व आउने गरी सरकार-सरकारबीचको सम्बन्धलाई हेरेर निर्यात गर्न सकिन्छ । आफ्नै देशमा उनीहरुको प्रविधि भित्र्याएर यहाँ प्रयोगशाला बनाउन सकिन्छ । र जहाँजहाँ बढी दुःख दिएर घरबास नै उठेको अवस्था छ त्यो ठाउँका बाँदर समातेर प्रयोगशालामा प्रयोग गर्न सकिन्छ । त्यसो गरियो भने एकातिर राजस्व बढ्ने अर्कोतिर जनताले राहत पाउने, अर्कोतिर त्यसबाट उत्पादन भएका औषधि अथवा अरु खालका शुल्कबाट अझै राजस्व बढेर हामीलाई नै फाइदा हुन्छ । अब यो फाइदातिर नगएर बाँदर कसरी नियन्त्रण गर्ने अथवा बाँदर नियन्त्रण गर्ने उपाय भन्दै हरेक वर्षका वडास्तरका पाँच-सात लाख, २० लाखका बजेटहरु खानेबाहेक अरु केही काम भइराखेको छैन । यो कुरालाई रोक्नुपर्छ । यसबाट सम्भव छैन ।

म आफैं धरान, संखुवासभा, बैतडी, मेलम्ची र पोखरामा बाँदरको समस्या भएपछि अध्ययन गर्न गएँ । हरेक ठाउँमा बाँदरका समस्या फरक-फरक छन् । कहीँ महिला, केटाकेटीलाई जिस्क्याउने समस्या, कहीँ खेतबारी नोक्सान गर्ने समस्या, कही पसलमा नोक्सान गर्ने समस्या । जस्तो- धरानमा दोकानमा नोक्सान गर्ने समस्या छ । पशुपतिमा गएर सोध्ने हो भने दोकानलाई समस्या । किनभने दोकानमा भएका चिजबिज नोक्सान गर्ने, अरु केही पनि समस्या भएन । त्यस्तै मकालु-वरुणमा मकै खाइदिएर समस्या गाउँ नै उठ्नुपर्यो । वायाह्याङ भन्ने सानो गाउँ थियो । त्यो गाउँ नै उठेर अहिले मधेशतिर झरे । त्यहाँको जमिन बाँझो भयो ।

त्यसकारण बाँदरका हरेक ठाउँका समस्या फरक छन् । ती समस्या पहिचान गर्ने, संख्या पत्ता लगाउने र बदमास बाँदरहरुलाई तुरुन्तै नियन्त्रणमा लिने । जसरी समाजमा पनि कसैले बद्मासी गर्यो, चोरी गर्यो भने सुरक्षा निकायले तुरुन्तै नियन्त्रणमा लिन्छ र कारबाही गर्छ । हो, त्यस्तै कारबाही गर्ने । यसो गर्दा हामीले अन्तर्राष्ट्रिय नियम पनि पालना गरेका हुन्छौं । अन्तर्राष्ट्रिय रुपमा पनि परीक्षण हुन्छ । हाम्रो सरकारले नै अगाडि बढेर नियमपूर्वक गर्यो भने यसमा नोक्सान हुने कुरै छैन । हामीलाई त फाइदै-फाइदा । यो फाइदातिर नगएर क्षणिक लाभ एकछिनको रमाइलो अथवा जनप्रतिनिधि भएँ भन्ने नाममा अवैज्ञानिक कुरा गरेर वाहवाह थाप्ने । यो प्रवृत्ति नेपालमा मौलाएको छ । यसलाई रोक्न पाएदेखि राम्रो हुन्थ्यो ।

अहिले बाँदरको संख्या बढेको हो कि तपाईंले भनेजस्तै जंगलमा खानेकुरा नपाएर गाउँ पसेको हो ?

दोहोरै छ । एकातिर मानिसहरु कम भएर खेतीपाती कम भइसकेपछि र पछिल्लो खेप जनावर सबैलाई माया गर्नुपर्छ भन्ने नाममा कसैलाई पनि नोक्सान नहुने अवस्था सिर्जना हुँदा र नेपालमा वन्यजन्तु संरक्षणलाई कानुनी रुपमा लिँदाखेरी । अहिले वन्यजन्तुको संरक्षणका नाममा हाम्रो पहरे बाँदर मात्र संरक्षित हो ।

रातो बाँदरले पनि मौका पायो । जसरी एउटा कुनै तहलाई अथवा कुनै वर्गलाई फाइदा दिने नाममा धनी भएजस्तो । जस्तो भनौं- एउटा गरिब किसानले पाउनुपर्ने राहत किसान भएको नाममा जमिनदारले पाएजस्तो भयो । त्यस्तै यो रातो बाँदरले त्यही मौका पायो । संरक्षणको यसले अतिरिक्त लाभ पायो । जस्तो- काठमाडौंमा पाँचतले घर भएको, बीसौं करोडको सम्पत्ति भएको, अहिलेको नियम-कानुनले जनजातिमा पर्यो भने उसले राहत पाउँछ । जुन बाँदर हाम्रो कानुनले सामान्य अरु जनावरसरह संरक्षण गर्नुपर्छ । तर हाम्रो देशको कानुनले २७ वटा संरक्षित गरेका भनेका जस्तै बाघ, गैंडा जस्तो होइन । यो कुरालाई मिडियाबाट अरु माध्यमबाट गलत ढंगले प्रचार भइरहेको छ । यो रातो बाँदर विश्वभर सबैतिर प्रयोग हुन्छ । तर त्यो नियमवद्ध हुनुपर्छ । अन्तर्राष्ट्रिय नियमअनुसार हुनुपर्छ ।

बाँदरको व्यवस्थापनका लागि के गर्न सकिन्छ त ?

पहिलो त बाँदरले जति ठाउँमा दुःख दिएको छ, त्यहाँको आँकडा चाहियो । दोस्रो- बाँदरका कतिवटा समूह छन्, वंश छन् । त्यसको आँकडा पनि चाहियो । हरेक समूहबाट कतिवटा बदमास छन्, त्यसको पहिचान हुनुपर्यो । त्यसपछि तिनीहरुलाई व्यवस्थापन गर्न हामीले वन्यजन्तु उद्धारजस्ता साना-साना चिडियाखाना बनाएर राख्नुपर्यो । बढी भएका बाँदर, यदि संख्या बढी छ र हामीलाई साँच्चिकै धेरै दुःख दिएको छ भने त्यसलाई उपयोग गर्नेतिर जानुपर्यो । यसो गरिएको खण्डमा हामीले दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सक्छौं । होइन भने तपाईंहरु अर्को वर्ष यस्तै महिनामा फेरि मलाई सोध्न आउनुहुन्छ कि बाँदरलाई के गर्ने ?

अब फेरि जनप्रतिनिधिले कुरा उठाए, फेरि यति राहत दिन्छु भनेको छ । यो सबै कुरा- बाँदरलाई अरु व्यवहारजस्तो कुरा होइन । जस्तो- एकताका आवाज आउनेजस्तो बन्दुक बनाएको थियो नि । बन्दुकले लखेट्ने । त्यो पनि काम लाग्दैन । किनभने, त्यसले चोट लाग्दैन भनेपछि अर्को पटकदेखि उसले वास्तै गर्दैन । यस्तो त पहाडतिर पहिले नै बाँसको बनाइएको थियो । पानी लाउने, बाँस भरिएपछि बाँस उठ्थ्यो । पानी पोखिएपछि ठ्याक्क आवाज आउँथ्यो । त्यो पहिला-पहिला त एकदमै काम लाग्यो । त्यो हाम्रा किसानहरुले सिक्किम, भुटानतिरबाट सिकेर आएका । त्यो गरियो । त्यसको एउटा नमुना यही चिडियाखानामा पनि छ । पहिला-पहिला त बाँदर डराए । पछि त यो ठ्याक-ठ्याक मात्रै गरिरहने रहेछ, मलाई केही हुँदैन भनेर वास्तै गर्न छाड्यो ।

त्यसकारण दीर्घकालीन रुपले समाधान गर्न त्यसको आँकडासहित हरेक ठाउँका बाँदरका अलग-अलग नोक्सानीका विवरणसहित अलग-अलग व्यवस्थापन गर्न सकियो भने राम्रो होला । नत्र टाउको दुःखेको औषधि नाइटोमा लगाई भनेको जस्तो । सबै ठाउँ (नेपालभर) त्यो हुँदैन । बन्ध्याकरण भनेको यही नै हो ।

बाँदरलाई बन्ध्याकरण गर्न समात्नुपर्यो । एउटा मात्रै समात्ने हो भने त्यो समूह कहिल्यै पनि तपाईंको नजिक आउँदैन । कसरी हुन्छ ? मैले बाँदरमै काम गरेको १९९१ देखि हो । अहिले करिब ३० वर्ष नाघ्यो । अब ३० वर्ष नाघ्दाखेरि मैले बाँदरलाई रत्याएको बाहेक तर्साएको बाँदरहरुको ग्रुप नै नजिक आउँदैन भने हाम्रो देशमा को त्यस्ता वैज्ञानिक छन् ? को त्यस्ता सांसद छन्, जसले मन्त्र गरेका भरमा सबै बाँदर नमस्कार गर्न आउँछन् ? लुतुलुतु बन्ध्याकरण गर्ने । असम्भव कुरा गरेर हुन्छ ? यो त अवैज्ञानिक कुरा भयो ।

थप समाचार...

दुःख दिए बाँदर र दुम्सीले...

पहाडी जिल्लामा बाँदर आतंक, किसानलाई बाली जोगाउनै धौधौ

बाँदरबाट किसान हैरान, खेतबारी बाँझै राखेर बसाइसराइँ

बाँदरको डरले भोजपुरका किसान वैकल्पिक खेतीतर्फ आकर्षित


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.