बाँदरबाट किसान हैरान, खेतबारी बाँझै राखेर बसाइसराइँ

वैशाख १६, २०८० |विनोद घिमिरे
बाँदरबाट किसान हैरान, खेतबारी बाँझै राखेर बसाइसराइँ

धनकुटा । पछिल्लो समय बाँदरको बहस प्रतिनिधिसभासम्म पुग्यो । गाउँघरमा आ‌तंक मच्चाएको भन्दै केही सांसदले बाँदर निर्यातको प्रस्ताव राखे । विभिन्न जिल्लामा बाँदरको उपद्रोले किसानको दैनिकी अस्तव्यस्त बनेको छ । स्थानीय तहले बाँदर धपाउने उपाय फेला नपार्दा खेतबारी बाँझै राखेर बसाइँ हिँड्ने क्रम बढेको छ ।

हिउँदका चार महिनाबाहेक धनकुटा पारिपात्लेका भक्तबहादुर कार्की बारीमै भेटिन्छन् । बाली जोगाउन बाँदरको गोठालो बस्नु उनको बाध्यता हो । मीनबहादुर कार्कीको पनि अधिकांश समय बाँदर धपाउनमै बित्छ । पारिपात्लेको सुन्तलाजात अनुसन्धान कार्यक्रमले बगैंचामा पसेर उपद्रो मच्चाउने बाँदर धपाउन गुलेली र मट्याङ्ग्रासहित गस्तीनै खटाउने गरेको छ । बालीनाली, अन्नपात, फलफूल खाने तथा नष्ट पार्ने बाँदरको बिज्याइँले किसानदेखि सरकारी अधिकारीसमेत आजित छन् ।

बाँदरले धेरै दु:ख दिने ठाउँमा खेती नै हुन छाडेको छ । यतिमात्र होइन, बाँदरको पीर खप्न नसकेर अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका आठवटै वडाबाट बसाइँ सर्ने क्रम बढेको छ । २०७९ सालमा मात्रै उक्त गाउँपालिकाबाट दुई सय पाँच परिवार बसाइँ सरेको तथ्यांक गाउँपालिकासँग छ । एकान्त र जंगल छेउमा खेती र बस्ती हुने किसान बाँदरको पिरलोमा छन् ।

कतिपय स्थानीय तहमा हरेक वर्षको योजना तर्जुमा गर्दा बाँदर नियन्त्रण र व्यवस्थापन नै पहिलो एजेन्डा हुने गरेको छ ।

कृषि सभ्यताको सुरुवातदेखि नै मान्छे र बाँदरबीच द्वन्द्व छ । कतिपय ठाउँमा बाँदरकै कारण मान्छेको उठिबास लागेको र लाग्ने अवस्था देखिएको छ । त्यसैले प्राकृतिक सन्तुलनमा नकारात्मक असर नपर्ने गरी बाँदर नियन्त्रण र व्यवस्थापनको उपाय खोज्न आवश्यक देखिएको छ । 

थप

बाँदरको डरले भोजपुरका किसान वैकल्पिक खेतीतर्फ आकर्षित


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।