काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४६ सुरू भएको अवसरमा देशका विभिन्न जिल्लामा मौलिक बाजागाजा र भेषभुषासहित र्याली तथा झाँकी निकालिएको छ ।
नेपाल संवत्को नयाँ वर्ष ११४६ का अवसरमा धादिङमा विभिन्न कार्यक्रम गरिएको छ । झिंगु नेवा: समाज धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीमा प्रभातफेरि गरिएको छ । पुछारबजारबाट सुरू भएको प्रभातफेरि बिचबजार, सिरानबजार हुँदै पुन: बिचबजार पुगेर कोणसभामा परिणत भएको थियो ।
यसैगरी संखुवासभाको खाँदबारी र चैनपुरलगायतका स्थानमा नेवा: देय दबु नगर समितिको आयोजनामा र्याली निकालिएको छ । खाँदबारीको बुद्ध चोकबाट निस्किएको प्लेकार्डसहितको र्यालीले नगरका विभिन्न स्थान परिक्रमा गरेको थियो ।
यसैगरी विराटनगरमा झी पुचः विराटनगरले मोटरसाइकल र्याली निकालेको छ । विराटनगरको बंगलामुखी मन्दिरबाट निकालिएको र्याली ट्राफिक चोक, महेन्द्र चोक, बसपार्क, मलाया रोड, वरगाछी, कञ्चनबारी, ठूलो मिल चोक, तीनपैनी हुँदै पुनः बंगलामुखी मन्दिरमा पुगेर समापन गरिएको थियो ।
बुटवलमा नेवार समुदायले पनि नेपाल संवत्को नयाँ वर्षका अवसरमा झाँकी प्रदर्शन गरेका छन् । विभिन्न संस्थाले निकालेको र्यालीले नगर परिक्रमा गरेको थियो । विभिन्न जिल्लामा निकालिएको र्याली तथा झाँकीमा युवा पुस्ताको समेत सक्रिय सहभागिता देखिएको छ ।