नेपाली भलिबल टिमको नेतृत्वमा हरीहजुरको पुनरागमन : प्रतिबन्ध, पीडा र पुनर्स्थापनाको कथा

कार्तिक ५, २०८२ |विनयज्योति सापकोटा
नेपाली भलिबल टिमको नेतृत्वमा हरीहजुरको पुनरागमन : प्रतिबन्ध, पीडा र पुनर्स्थापनाको कथा

काठमाडौं । हरीहजुर थापा नेपाली पुरुष भलिबल टिमका १०औं कप्तान हुन् । 

यसअघि एउटै प्रतियोगितापछि अयोग्य भन्दै हटाइएका हरीहजुरले ६ महिनाको प्रतिबन्धसमेत भोगेका छन् । पेशागत जिम्मेवारी र चोटका बाबजुद पनि उनले अहिले भलिबलमा कमब्याक मात्रै गरेका छैनन्, पुराना कुराबाट अनुभव लिएर फेरि एकपटक भलिबलको नेतृत्वको जिम्मेवारी पाएका छन् ।

ओखलढुंगामा जन्मिएका हरीहजुर थापाको जीवनमा भलिबल कहिल्यै टुटेन । सानोमा बुवाले भलिबल ल्याइदिने भएकाले उनलाई यो खेल आफ्नै लाग्थ्यो । विद्यालयमा हुने खेलकुद र त्यहाँको टिमबाट पनि उनले भलिबल नै खेले । २०६७ सालमा नेपाली सेनाको जागिरे बनेपछि भलिबलमा राष्ट्रिय खेलको यात्रा सुरू भयो ।

सन् २०१५ मा काभा च्याम्पियनसिपका लागि नेपाली टिम बंगलादेश जाँदा हरीहजुरले पहिलो पटक अन्तर्राष्ट्रिय यात्रा गरे । त्यहाँ उनले २४ वर्षको उमेरमा पहिले क्याप जिते, घरेलु टोलीविरूद्ध अन्तर्राष्ट्रिय डेब्यू गरे। नेपालमा भलिबलका खासै घरेलु प्रतियोगिता हुँदैनन् । 

वर्षमा हुने दुई वटा राष्ट्रियस्तरको प्रतियोगिताबाटै खेलाडीले आफ्नो खेल कौशल धान्नुपर्ने बाध्यता छ । तर विभागको लगातार अभ्यासका करण हरीले आफूलाई अहिलेसम्म फिट र खेलको लायक राख्न सकेका हुन् । दुई वर्षअघि कीर्गिस्तानमा भएको प्रतियोगिताका लागि हरी हजुरलाई कप्तानको जिम्मेवारी दिइएको थियो । 

त्यहाँ नेपालले सबै खेलमा हार ब्यहोरेपछि उनले टिमको प्रदर्शनमा असन्तुष्टि जनाए । उतिबेला हरीहजुरभन्दा सिनियर खेलाडी टिममा थिए । उनले टिमको नेतृत्व गर्न नसकेको भन्दै भलिबल संघले नै हटायो । त्यसपछिको घरेलु प्रतियोगितामा गण्डकी प्रदेशसँगको एक खेलमा हुटिङ गरिरहेका एक समर्थकलाई उनले प्यारापिटमा गएर हात हालेपछि उनलाई संघले गरेको थियो । 

उनी दुई वर्ष नै मैदान बाहिर रहे । आर्मीका लागि मिसनमा गए शरीरको चोटका कारण पनि कमब्याकमा ढिलो भयो । यी सबै कुरा खराब सपनाका रुपमा सम्झिन्छन् हरीहजुर । अहिले भलिबल संघले पुनः एक पटक उनीमाथि विश्वास गरेको छ । उनी क्षमतावान् छन् । 

सेटरको भूमिकामा उनले टिमलाई धेरै न्याय गर्न सक्ने प्रशिक्षकको विश्वास छ । उनी अहिलेका निर्विकल्प नेतृत्व रहे । धनबहादुर भट्ट र हरीहजुर नेपाली टिममा अहिलेका अनुभवी, भेरिएसन र कौशलले भरिएका खेलाडी हुन् । नेपाली टिमको लिगेसी अब यी खेलाडीले नै युवा खेलाडीलाई सिकाउनु पर्नेछ ।

अहिले हरीहजुरको नेतृत्वमा नेपाली टिम बंगलादेश गएको छ । उनले आफूलाई त राष्ट्रिय टिममा पुन:स्थापना गर्नु छ नै समर्थक माझ गुमेको भलिबल टिमको विश्वाससमेत फर्काउनु पर्नेछ । यसका लागि युवा खेलाडीलाई मैदानभित्र हौसला प्रदान गर्न सहज भने छैन् ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।