काठमाडौं । लगानीकर्तामा त्रास र अन्योलको स्थिति कायमै हुँदा बैंकबाट कर्जा अत्यन्त न्यून मात्रामा मात्रै प्रवाह भएको छ ।
साउन र भदौ महिनामा सुस्त रहेको कर्जाको माग जेन-जी आन्दोलनपछि झनै घटेको बैंकर्स बताउँछन् । नेपाल बैंकर्स एसोसिएसन्का अध्यक्ष सन्तोष कोइरालाका अनुसार जेन-जी आन्दोलनपछि लगानीकर्तामा अन्योलको स्थिति देखिन्छ ।
भदौ २४ पछि बैंकमा ऋण माग्न आउने झनै घटेको उहाँको भनाइ छ । साउन महिनामा बैंकहरू नै कर्जा विस्तार गर्नेभन्दा पनि उठाउने रणनीतिमा थिए । त्यसपछि भदौमा भएको जेन-जी आन्दोलन र त्यसपछि आएको बाढी पहिरोका कारण कर्जा बिस्तार एकदमै सुस्त भएको उहाँको भनाइ छ ।
बजारमा कर्जा नगएपछि राष्ट्र बैंकले असोज महिनामा मात्रै पटक पटक गरी बजारबाट ३ खर्ब ९५ अर्ब रकम खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट चालु आर्थिक वर्षको दुई महिनामा निजी क्षेत्रमा ४९ अर्ब २४ करोड मात्रै कर्जा प्रवाह भएको छ ।
जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३९ करोडले बढेको थियो । यसले गत वर्षभन्दा झनै कर्जा सुस्त भएको देखिएको छ । नेपाल च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल भने पछिल्लो समय बैंकहरूले कर्जा लिादा साना व्यवसायीको समेत कर कट्टी खोज्दा कर्जा विस्तार प्रभावित भएको बताउनुहुन्छ ।
साना व्यवसायी करको दायरामा अझै नआएकाले गर्दा कर्जा लिनका लागि उनीहरूले करकट्टी गरेको प्रमाण पेस गर्न नसकेको बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आयात कर्जा ६ दशलमब ७ प्रतिशत र सेयरबजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा ३ दशमलब ५ प्रतिशतले बढेको छ ।
व्यक्तिगत आवासीय घर कर्जासहित रियल स्टेटमा प्रवाह हुने कर्जा भने जम्मा शून्य दशमलव ८ प्रतिशतले मात्रै बढेको छ । कर्जा विस्तार न्युन हुँदा बैंकिङ क्षेत्रमा अहिले ११ खर्ब हाराहारी लगानीयोग्य रकम थुप्रिएको देखिन्छ ।