दुःख दिए बाँदर र दुम्सीले...

श्रावण १४, २०८० |शमशेरविक्रम जीसी
दुःख दिए बाँदर र दुम्सीले...

प्युठान । बाली नालीलाई बाँदरले मात्र होइन खेतबारी आसपास जमिनमुनि बस्ने दुम्सीले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति दुम्सी ढुकेर बस्छन् । पछिल्लो समय प्युठानका किसान दिनरात नभनी खेतबारी कुर्न बाध्य छन् ।

गौमुखी गाउँपालिका ६, लिवाङ प्युठानका गिरबहादुर खड्काको बास हिजोआज घरमा हुँदैन । जगंली जनावरले मकैलगायत बालीमा क्षति पु¥याउने भएपछि उनको बास बारीमै हुन्छ । टहरो बनाएर उनी राति पनि बारीमै बस्छन् । दिउँसो बाँदर र राति दुम्सीले मकै नोक्सान गर्न थालेपछि लिवाङका धेरै किसान अहिले रातदिन बारीमै भेटिन्छन् । घामपानीबाट जोगिन टहरो बनाएका उनीहरू रातदिनको पालो लगाएर बारी कुर्छन् ।

‘बाँदर, दुम्सीले धेरै सास्ती दिएको छ । दिउँसो मात्र होइन । दुम्सीलाई रातिमा पनि हेर्नुपर्ने अवस्था छ,’ लिवाङका गिरबहादुरले भने । यस्तै स्थानीय विमला खड्का पनि रातभर दुम्सी र दिनमा बाँदर धपाउनुपर्दा निकै दुःख भएको गुनासो गर्छिन् ।

बालीनालीमा बर्सेनि जंगली जनावर बाँदर, दुम्सी, ढेडु, रतुवालगायतले सास्ती दिन थालेपछि किसान आजित भएका छन् । महिला, बालबालिकालाई बाँदरले टेर्दैनन् । बाँदर धपाउने मेसिनले समेत जंगली जनावर डराउन छाडेका छन् । किसानहरू जंगली जनावर भगाउन रातभर बाजा बजाउने, आगो बाल्ने गर्छन् भने दिउँसो बाँदर धपाउन गाउँपालिकाले उपलब्ध गराएको उपकरण पड्काउने गर्छन् । त्यसका बाबजुद पनि बाली जोगाउन नसकिएको उनीहरूको गुनासो छ ।

जगंली जनावरबाट बाली जोगाउन स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रम चलाएका छन् । चरा तथा जगंली जनावर भगाउन अनुदानमा यन्त्र उपलब्ध गराइएको छ । त्यसबाहेक प्युठानको स्वर्गद्वारीमा बाँदर समाउनेसम्मका कार्यक्रम ल्याइए पनि जगंली जनावरको बिगबिगी रोकिएको छैन ।

‘बाँदर धपाउने एउटा बन्दुक बनेको छ । त्यसको वितरण गरियो । त्यसको प्रभावलाई हेरर हामीले योपटक पनि अलि धेरै वितरण गरौं भन्ने तयारीमा छौं,’ मल्लरानी गाउँपालिका प्युठानका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले भने ।

लगाएको बालीनाली जोगाउनै नसक्ने भएपछि किसानहरूले बाँदर लाग्ने बारीमा खेतीपाती नै गर्न छाडेका छन् । यसले भएका बारी बाँभैm राखेर गाउँघरमा अन्न किनेर खानुपर्ने अवस्था नआउला भन्न सकिन्न ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।