काठमाडौं । नेपाल प्रहरीले भदौ २४ गते भएको विध्वंसमा संलग्न मध्ये अहिलेसम्म ७६ जनालाई पक्राउ गरेको छ ।
जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा तीन प्रहरीको हत्या, हतियार लुटपाट, तोडफोड र नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरूलाई प्रहरीले अनुसन्धान गरी पक्राउ गर्दै आएको छ । आगजनी तोडफोड र आपराधिक उपद्रवमा संलग्न ६३, ज्यान मार्ने उद्योगमा संलग्न १ र अभद्र व्यवहारमा संलग्न ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले प्रहरीको हत्यामा संलग्न ९ जनामध्ये ४ जना पुर्पक्षका लागि थुनामा पुगेको जानकारी दिनुभयो । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो ।
बाँकी ५ जनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ । कारागारबाट भागेका केदीबन्दीमध्ये १३२ जनालाई पक्राउ गरिएको र २४ गतेको घटनापछि हराएका हतियारमध्ये केही हतियार पनि बरामद गरेको प्रहरीले जनाएको छ ।