पाल्पा । यतिबेला मुलुकभरका पहाडी जिल्लाका पाखो बारीमा मकै खेतीले घोगा लगाउने समय भएको छ । घोगा लागेको मकै खेती बाँदरबाट जोगाउन भने किसानलाई हम्मेहम्मे नै परेको छ । बाँदरबाट मकै खेती जोगाउन पहाडी भेगका किसान बिहान झिसमिसेदेखि बेलुकी अध्याँरो नहुँदासम्म बारीको छेउ मै बस्न बाध्य छन् ।
बाँदर लगायतका जंगली जनावर र चराचुरुङगीबाट मकैबाली जोगाउन पाल्पाका कतिपय स्थानमा टिन ठटाएर बस्नु परेको छ । केहीले ठूलो आवाज निकल्ने बन्दुक, पटाका लगायत अन्य वस्तु पड्काउने गर्छन् । कतिपयले घामपानीबाट बच्नका लागि जंगल छेउमा रुखमै टहरा बनाएर बाँदर धपाउन बसेका छन् । पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँचीलगायत पहाडी जिल्लामा बाँदर धपाउन किसानले अनेकन उपाय अपनाउने गरेपनि बाँदरले सताउन छाडेको छैन ।
रिब्दीकोट गाउँपालिका-७ का प्रकाश कार्कीले बिहान उठेदेखि साँझसम्म बाँदर धपाउन एक जना गोठालो बस्नु परेको गुनासो सुनाए । उनले भने, ‘बिहान उठेदेखि साँझसम्म एक जना कुरुवा चाहिँन्छ । त्यति गर्दा पनि बाँदरले बारीमा भएका अन्नपात, तरकारी सबै खाइदिन्छ ।’
गाउँघरमा युवापुस्ता कमै मात्र छन् । त्यसैले अधिकांशले बारीमा मकै लगाउन छाडेका छन् । दुःख गरेर लगाएको मकै लगायतका अन्नबाली पनि अहिले बाँदरबाट जोगाउन कठिन छ । रिब्दीकोट-५ की जितकुमारी खत्री पौडेलले बाँदर धपाउन पटकासमेत पड्काउनु पर्ने भन्दै बाली जोगाउन कठिन भएको जनाइन् ।

बाँदर धपाउन स्थानीय सरकारले पनि पहल नगरेको स्थानीयको गुनासो छ । हुन त संघीय सरकारले बाँदरले बाली क्षति गरेमा किसानले क्षतिपूर्तिस्वरुप १० हजार रुपैयाँसम्म पाउने निर्देशिका जारी गरेको छ । वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० मा पहिलो पटक बाँदरबाट हुने क्षतिलाई राहत दिने तयारी गरेको हो । तर यसको कार्यान्वयन स्थानीय तहबाटै हुनुपर्ने आवाज उठेको छ ।
जिल्ला समन्वयन समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भने, ‘नीति तथा कार्यक्रमअन्तर्गत यो कार्यान्वयन हुने निकाय स्थानीय तहबाटै हुनुपर्छ भनेर सुझाव राख्न चाहन्छु ।’
बाँदर धपाउन बन्दुकको आवाजजस्तै आउने यन्त्रको व्यवस्था गरेपनि पछिल्ला दिनमा त्यस्ता आवाजले बाँदर भाग्न छाडेको छ । गुलेलीले हानेको ढुंगाले लागे मात्र भाग्छ होइन भने अटेर गरी बस्छ । तै पनि बाली जोगाउन किसानले विभिन्न उपाय अपाउन भने छाडेका छैनन् ।