काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको क्विन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके १७ दिनसम्म पनि फेला नपरेपछि सरकारले अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई दिएको छ । राजस्व अनुसन्धान विभाग एक्लैले यस्ता अपराधका घटना पार लगाउन नसक्ने र प्रहरीको भूमिकामाथि धेरैको चासो बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा अनुसन्धानको जिम्मेवारी सीआईबीले पाएको हो ।
सुन तस्करी प्रकरण राजस्वसँग मात्र सम्बन्धित नभएर संगठित र अन्तर्देशीय अपराधसँग जोडिएको छ । प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न दबाब दिइरहेका बेला प्रधानमन्त्री दाहालले अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिएका हुन् ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जााचपास गराई सिनामंगलमा पुगिसकेको करिब एक क्विन्टल सुन प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही दिनबाट अनुसन्धान गरिरहेको विभागले यो प्रकरणमा १९ जनालाई नियन्त्रणमा लिएको भए पनि मुख्य अभियुक्त भेट्न सकेको छैन ।
विभागले पक्राउ परेकामध्ये तीन जना विदेशी छन् । यसले पनि संगठित र अन्तर्देशीय अपराधसाग जोडिएको पुष्टि हुने आधार देखिएपछि सरकारले अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको हो ।
सुन काण्डमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना साधारण तारेखमा रिहा
बरामद सुन हङकङ, चीन, दुबई र भारतमा रहेका गिरोहले नेपाललाई ट्रान्जिट बनाएर ल्याएको र यसको गन्तव्य भारतीय बजार रहेको तथ्य विभागले गरेको अनुसन्धानमा भेटिएको थियो । तर विभागलाई संगठित र अन्तर्देशीय अपराधका विषयमा छानबिन गर्ने अख्तियारी छैन । त्यही कारण यो घटनाको अनुसन्धान गर्न प्रहरीलाई नै दिनुपर्ने माग हुँदै आएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको थियो । राजस्व अनुसन्धान विभागले दुई साता बित्दा पनि मुख्य अभियुक्त भेटाउन नसकेको र सरकारमाथि दबाब बढ्दै गएपछि प्रहरीको जिम्मा दिइएको हो । सरकारको यो निर्णयले विपक्षीमाथि सदन खुलाउन दबाब मात्र परेको छैन, सुन तस्करीका मुख्य नाइकेसम्म पुग्नसमेत सहयोग पुग्ने पूर्वप्रहरी अधिकारी बताउँछन् ।
राजस्व अनुसन्धान विभागले पनि अहिलेसम्म सुन तस्करीका घटनाका धेरै प्रमाण र कागजात संकलन गरेको छ । अब ती कागजात सीआईबीलाई हस्तान्तरण भएलगत्तै नयाँ ढंगले अनुसन्धान सुरु हुनेछ ।
त्यसो त यो घटनाको अनुसन्धान गरी निष्कर्षमा पुग्न सीआईबीलाई पनि कम चुनौती छैन । किनकि भन्सार कार्यालयबाट एक क्विन्टल सुन बाहिरिँदासमेत उसले पत्तो पाएको थिएन । उल्टै राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यसअघि पनि विमानस्थल भन्सार कार्यालयबाट प्रहरीको आँखै अगाडि यस्तै प्रकारका धेरै घटना भएको हुनसक्ने आशंका स्वयम् सांसदहरुले संसद्मै उठाउँदै आएका छन् ।
विद्युतीय चुरोटमा लुकाएर ल्याइएको सुनको अनुसन्धान गर्न सीआईबीले सकेको छैन । सुन तस्करी घटनामा जोडिएकाहरुलाई पक्राउ परेर अनुसन्धान गर्न नसकेको सीआईबीले नक्कली शरणार्थी प्रकरणका सबै आरोपीमाथि निष्पक्ष छानबिन गर्न नसकेको भनेर बेलाबेलामा प्रश्न उठिरहेको छ । अहिले क्विन्टल सुन तस्करीको अनुसन्धान गर्ने अख्तियारी पाएको सीआईबीले कुनै दबाब र प्रभावमा नपरी आफ्नो काम टुंगो लगाएर आममानिसमा देखिएको आशंका चिर्न सके मात्र उसले साख जोगाउन सक्छ ।