काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले १८ जना नेतालाई गरेको कारबाहीलाई लिएर सुरु भएको विवाद झन् पेचिलो बनेको छ । नेता शेखर कोइराला समूहले कारबाही मान्य नहुने चेतावनी दिएको छ ।
कोइराला समूहको सोमबार काठमाडौंमा भएको भेलाले आगामी महाधिवेशन र २०८४ सालको निर्वाचनलाई लक्षित गरेर अनुशासन आयोगले छानिछानी कारबाही गरेको भन्दै आपत्ति जनाएको हो । तीन वर्षअघि परेको उजुरीका आधारमा एकपक्षीय कारबाही मान्य नहुने चेतावनी यो समूहले दिएको छ ।
भेलामा सहभागी नेताहरुले कांग्रेसमाथि चौतर्फी आक्रमण भइरहेका बेला पार्टीलाई एकढिक्का बनाएर जानुपर्नेमा कारबाहीको डन्डा चलाइएको भन्दै असन्तुष्टि जनाएको । यस्तो निर्णयले आगामी चुनावमा घाटा हुने दाबी उनीहरुले गरेका छन् ।
कांग्रेसको अनुशासन आयोगले चुनावमा अन्तर्घात गरेको भन्दै गत बुधबार प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्ला सभापतिसहित १८ जनालाई कारबाही गरेको थियो ।