संखुवासभा । नापी तथा मालपोत कार्यालयमा आगलागी भई भूमिलगत नष्ट भएको २३ वर्षपछि संखुवासभा चैनपुरका स्थानीयले जग्गाकाे लालपुर्जा पाएका छन् । चैनपुर नगरपालिका- ९ का ३५ परिवारलाई विशेष नापी कार्यालयले आज लालपुर्जा वितरण गरेकाे हाे ।
सशस्त्र द्वन्द्वका बेला २०५९ वैशाख १४ गते संखुवासभाकाे चैनपुरमा रहेकाे नापी तथा मालपोत कार्यालय समेतमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्त्वपूर्ण भूमिलगत नष्ट भएको थियाे ।
२०७६ माघ १३ काे मन्त्रिपरिषद्काे निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर, स्थापना भएको हो । हाल यस कार्यालय अन्तर्गत दुई वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नापनक्सा तथा जग्गा दर्ताको कार्य भइरहेको छ ।
४ नगरपालिकाको ६४ हजार हेक्टर क्षेत्रमा दुई टाेलीबाट नापी भइरहेकाे विशेष नापी प्रमुख हरिशरण नेपालले बताउनुभयो । मादी, चैनपुर, धर्मदेवी र पाँखपन नगरपालिकामा विशेष नापी कार्यालयले काम गरिरहेकाे छ । उहाँका अनुसार चैनपुर नगरकाे ५,७,८,९,१०,११ मा नाप नक्सा सकिएकाे छ ।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतले आज ३५ परिवारलाई लालपर्जा वितरण गर्नुभएको थियो ।