पारि खेत, वारि घर, नदीको बाटो छैन भर

असार ३०, २०८२ |जे पाण्डे
पारि खेत, वारि घर, नदीको बाटो छैन भर

बाँके । पारि खेतबारी, वारि घर, बीचमा विशाल राप्ती नदी । बर्खामा उर्लेर आउने राप्ती पार गर्न किसानसामु सानो डुङ्गा बाहेक विकल्प छैन ।

बाँच्नका लागि खानुपर्ने, खानका लागि अन्न खेती गर्नैपर्‍यो । तर गर्ने कसरी ? बाँकेको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका बासिन्दा ज्यान जोखिममा हालेर धानको बीउ बोकेर डुङ्गाबाटै नदी वारपार गर्छन् । तर विडम्बना तटीय बस्तीका बासिन्दाको सुरक्षित यात्राप्रति सरकारले चासो दिएको छैन ।

टाउकोमा बीउको मुठा बोकेर पश्चिम कृषि चौफेरीमा धान रोप्न जाँदा असार २५ गते बाँके राप्ती नदी पूर्व पिप्रहवाकी सैजहा बानोसहितका किसान चढेको डुङ्गा नै पल्ट्यो । तीन पटकसम्म उर्लेर आएको भेलले बगाउँदा मुस्किलले ज्यान जोगियो । तर के गर्ने ? धान रोप्न जाने अर्को बाटो छैन । रोपाइँ नगरेर खाने अन्न हुँदैन । त्यसैले धेरै किसान खेती गर्न ज्यानको बाजी लगाउन बाध्य छन् ।

“घाँटी घाँटी पानी आयो । धन्न नदी छेउमा भएकाले तैरिएर बाहिर निस्कें । नत्र डुबेर मरिने थियो । खेतबारी नदी पारि छ । हेर्नुस् न बीउ टाउकोमा राखेर जाँदैछु । उताबाट फर्केर आउन सके त आइएला न सके उतै बस्नु पर्छ । भोकै प्यासै खेतमै अत्रलपत्र परिन्छ । खेती नगरौं भने के खाने ?”, पिप्रहवा, बाँकेकी सैजहा बानोले बताउनुभयो ।

सलामत पठान पनि धानको बीउसहित डुङ्गा चढ्नुभयो, टुक्रुक्क छेउमा बस्नुभयो । नदी पश्चिम उहाँको ३/४ क्विन्टल धान र १/२ क्विन्टल गहुँ फल्ने खेत छ । डुङ्गा चढेबापत डुङ्गाधनीलाई वर्षमा ४० किलो धान र त्यति नै गहुँ दिनुपर्छ ।

“मुस्किलले बचेका अन्न यताबाट उता जान्छ । उतातिर खेती गर्न जाँदा यता नदीमा बाढी आउँछ । त्यो बेला फर्केर घर आउन सकिँदैन । जब बाढी घट्छ अनि आउन सकिन्छ । यता डरले बालबच्चा चिच्याउँछन् । उता आफू भोकै प्यासै अलपत्र परिन्छ”, पिप्रहवाका सलामत पठानले बताउनुभयो ।

“धेरैजसो आफ्नो खेतमा धान रोप्न त कतिपय ज्याला मजदूरीमा रोप्न जाँदैछन् । कुनै ग्यारेन्टी छैन कि यो डुङ्गा पारि पुग्छ भन्ने । बीचमै अड्किन सक्छ । ज्यानको बाजी लगाएर जाँदैछन् । बाढी आयो र कुनै खतरा आइपर्‍यो भने आमा एउटा किनारतिर रुन्छिन् । बच्चा अर्को किनारमा”, बाँके खल्लाझगडियाका दुर्गालाल पाण्डेयले बताउनुभयो ।

नदीमा पिप्रहवा, सतीघाट, बालपूर्वासहित ३ वटा घाट छन् । जहाँ वारपार गर्न सानो डुङ्गा राखिएका छन् । नदी तर्दातर्दै तीव्र गतिमा उर्लेर आउने बाढीले डुङ्गा बगाउँदा कलिला माझी गुड्डु मल्लाहले धेरै पटक जीवनको आशा मार्नुभएको छ ।

भवानीयपुरका अर्का माझी इन्द्रपाल मल्लाहले यो घाटमा ११ वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएको छ । असार २५ गते साँझ ५ बजेतिर बाढीमा फसेका ८ जनाको उद्दारमा जाँदा उहाँले खियाउँदै गरेको डुङ्गा नै बग्यो ।

४४ सालको बाढीले यो घाटमा डुङ्गा बगाउँदा झन्डै १ सय जनाले ज्यान गुमाएको स्थानीय बताउँछन् । त्यति बेला दुई जना माझी बाँच्न सफल भए । यस्तो जोखिमयुक्त यात्रा गर्दै खेतसम्म पुग्नुपर्ने बाध्यता भएका बासिन्दाले यो ठाउँमा पुलको माग गर्दै आएका छन् ।

यस्ता सानो डुङ्गाबाट ठूलो भेलमा नदी तर्दा आइपर्नसक्ने खतरालाई मध्यजनर गर्दै सुरक्षित जलयात्राको व्यवस्था नगर्ने हो भने कुनै पनि बेला दुर्घटना नहोला भन्न सकिन्न ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।