काठमाडौं । एन्फा यु-१६ युथ लिगअन्तर्गत सोमबार भएका खेलमा मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० हराएको छ । फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ र मन्दीप ढुंगेलले एक-एक गोल गरे । अर्को आत्मघाती गोल आर्मीका बदल पोखरेलले गरे । हारसँगै चार खेलमा तीन अंक जोडेको आर्मी ११औं स्थानमा झरेको छ । समान खेलमा तेस्रो जित हासिल गरेको फ्रेन्ड्स क्लब चौथो स्थानमा छ ।
पहिलो खेलमा मनाङ मर्स्याङ्दीले साविक विजेता चर्च ब्वाइजविरुद्ध ४-३ को रोमाञ्चक जित हासिल गरेको हो । जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । चार खेलमा तीन जित र एक बराबरीका साथ १० अंक जोड्दै मनाङ दोस्रो स्थानमा उक्लिएको छ । लिगमा चर्च ब्वाइजको यो तेस्रो हार हो । तीन अंक जोडेको चर्च ब्वाइज १०औं स्थानमा झर्यो ।
तेस्रो खेलमा नेपाल पुलिसले प्लानिङ बोईज युनाईटेडलाई ६-० ले हरायो । ४ खेलमा १२ अंकसहित पुलिस तालिकाको शीर्ष स्थानमा छ । प्लानिङ बोईजको ४ खेलमा ३ अंक छ ।