छाउगोठ भत्काउने अभियान चलाउन कञ्चनपुर प्रशासनको निर्देशन

असार ३०, २०८२ |हरिश्चन्द्र बाग
छाउगोठ भत्काउने अभियान चलाउन कञ्चनपुर प्रशासनको निर्देशन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगाली टोलमा महिनावारी भएका बेला छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजी दमाईको सर्पदंशबाट मृत्यु भएको घटनापछि कञ्चनपुर जिल्लाभर छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै स्थानीय तहलाई परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न पत्रमार्फत अनुरोध गरेको हो । 

कञ्चनपुरका भीमदत्त, दोधाराचाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई कुप्रथा अन्त्य गर्न अभियान नै सञ्चालन गर्न अनुरोध गरेको हो ।

समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको प्रशासन भनाइ छ । कृष्णपुर नगरपालिकाले भने आइतबार नै १५ दिनभित्र छाउगोठ भत्काउन सूचना जारी गरिसकेको छ । कमला आउजी दमाईको मृत्युपछि त्यस क्षेत्रका महिलाहरूमा डर र आक्रोश दुवै बढेको देखिन्छ । 

अधिकारकर्मीहरूले कञ्चनपुर प्रशासनको यो निर्णायलाई स्वागत गर्दै स्थायी रूपमा परिवर्तन ल्याउने खालका चेतनामुलक कार्यक्रम र कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।