काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि सत्तारुढ दल नेकपा एमालेभित्र ध्रुवीकरण सुरु भएको छ । भदौमा हुने विधान महाधिवेशन र त्यसपछि हुने ११औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छान्ने विषयलाई लिएर एमालेमा ध्रुवीकरण सुरु भएको हो । एमालेमा अहिले स्पष्ट रूपमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारी समूह देखिएको छ ।
ओली समूहले आगामी महाधिवेशनपछि पनि ओलीलाई नै अध्यक्ष बनाउने रणनीति बनाइरहँदा भण्डारी समूह त्यसलाई रोक्ने र नेतृत्व परिवर्तनको प्रयासमा लागेको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अबको ६ महिनाभित्रै पार्टीको ११औं राष्ट्रिय महाधिवेशन गराएर तेस्रो पटक अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ । त्यसका लागि भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनबाट विधानमा रहेको ७० वर्षीय उमेर हद र दुई कार्यकालको प्रावधानलाई हटाउँदै आफ्नो बाटो खुला गर्ने प्रयासमा हुनुहुन्छ । तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधानमा भएको ७० वर्ष उमेर हद र दुई कार्यकालको प्रावधान कायमै राखेर ओलीलाई रोकेर आफू नेतृत्व लिने रणनीतिका साथ अघि बढ्नु भएको छ । पहिलो चरणमा दुवै समूहले विधान महाधिवेशन लक्षित गरेर आआफ्नो तयारी गरिरहेका छन् ।
एमालेले २०८४ सालमा हुने निर्वाचनबाट एकल बहुमतसहितको सरकार चलाउने घोषणा गरेर मिसन ८४ अभियान चलाइरहेको छ । संस्थापन पक्षले यसको नेतृत्व ओलीले नै गर्ने दाबी गरेको छ । त्यसका लागि उहाँलाई तेस्रो पटक अध्यक्ष बनाउने तयारी यो समूहको छ । यसका लागि महासचिव शंकर पोखरेलसहित उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्यालसहित केही स्थायी समितिका नेता सक्रिय छन् ।
ओली समूहलाई आफ्नो रणनीतिअनुसार अघि बढ्न त्यति सहज देखिएको छैन । पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक रूपमै आफू एमालेको नेतृत्व लिन तयार भएको घोषणा मात्र गर्नुभएको छैन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसहितका पदाधिकारीहरूलाई नै आफ्नो पक्षमा ल्याएर गृहकार्य थालिसक्नुभएको छ । उहाँले वामपन्थी दलहरूबीचको एकता गराएर शक्तिशाली कम्युनिस्ट पार्टी निर्माणको योजना सुनाउँदै ११ औं महाधिवेशनमा अध्यक्षको दाबीदारी प्रस्तुत गर्नुभएको छ ।
उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्टले पनि आफूलाई साथ दिने बुझाइ भण्डारीको छ । ओली तेस्रो पटक अध्यक्ष बन्न नहुने पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि हुनुहुन्छ । तर उहाँले भण्डारीलाई साथ दिने या नदिने भन्ने खुलेको छैन । उपाध्यक्ष रामबहादुर थापा, सचिवहरु रघुवीर महासेठ र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा र लेखराज भट्ट अहिलेसम्म मौन छन् । एउटै राजनीतिक धारको प्रतिनिधित्व गर्ने ओली र भण्डारी नै अध्यक्षका प्रत्याशीको रूपमा अघि सरेपछि तेस्रो पंक्तिका नेताहरू कसलाई रोज्ने भन्ने अन्योलमा देखिन्छन् ।