काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनःविचार गरिने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भुक्तानीका नाममा दुरुपयोग हुने गरेको पाइएकाले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनःविचार गरिने बताउनुभएको हो ।
यससँगै सरकारले निरोगी नेपालको नीति लिएकाले रोग लाग्नै नदिनका लागि योग तथा व्यायाम गर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले त्रिवि शिक्षण अस्पतालले उत्कृष्ट सेवा पुर्यारहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले सरकारले छात्रवृत्तिमा साढे ५ अर्बभन्दा बढी लगानी गर्ने भएकाले विदेशमा भन्दा पनि देशमै सेवा गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । सरकारी छात्रवृत्ति कार्यक्रममा पुनःविचार गर्ने पनि उहाँले बताउनुभएको छ ।
आजै व्यवसायी मीनबहादुर गुरुङले साढे ९ करोडमा अस्पताल परिसरभित्रै बनाइदिनुभएको ईएसएस भवन पनि हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले उक्त भवनको आजै उद्घाटन गर्नुभएको छ ।