मितेरी पुलमा बेलिब्रिज राख्न सुरु, १० दिनभित्र काम सक्ने आश्वासन

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मितेरी पुलमा बेलिब्रिज राख्न सुरु, १० दिनभित्र काम सक्ने आश्वासन

काठमाडौं । रसुवामा आएको बाढीका कारण बगेको मितेरी पुलमा चिनियाँ पक्षले बेलिब्रिज राख्न सुरु गरेको छ । गत शुक्रबारदेखि ५० जना जति चिनियाँ कामदारले बेलिब्रिज निर्माणको काम अघि बढाएका हुन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार चिनियाँ पक्षले १० दिनभित्रमा बेलिब्रिज निर्माणको काम सक्ने आश्वासन दिएको छ । बेलिब्रिज निर्माणको काम अघि बढ्ने भएपछि व्यापारीहरू रसुवागढी आइपुगेका सामान सोही नाकाबाटै ल्याउने मनस्थितिमा छन् । असार २५ गते आएको बाढीका कारण २२ वटा सामान सहितका गाडी चीनतिर डुबेका थिए । डुबेका सबै गाडी निकालेर फलफूल रहेका २ वटा गाडी तातोपानी नाकातर्फ पठाइएको थियो । अन्य सामान भने बेलिब्रिज बनेपछि ल्याउने योजनामा व्यापारी छन् । 

चीनतर्फका सबै सडक बनिसकेको र नेपालतिरको पनि ९ किलोमिटरमा काम सकिएको व्यापारीहरूको भनाइ छ ।

गत जेठसम्म मात्रै रसुवा नाकाबाट ८० अर्बको आयात तथा १ अर्ब ९६ करोडको निर्यात भएको थियो । चीनतर्फ निर्यात हुने सामानमध्ये ८० प्रतिशत यो नाका भएर जान्छन् भने २० प्रतिशत भारत हुँदै समुद्रमार्गबाट चीन पुग्छन् । 

रसुवागढी नाका बन्द भएपछि चीनबाट आउने सामान तातोपानी नाका हुँदै आए पनि निर्यात भने ठप्प छ । तातोपानी नाकाबाट सामान आयात गरे पनि निर्यात गर्नका लागि अहिले सम्भव नरहेको व्यापारीहरू बताउँछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.