पारवहन सन्धि नवीकरणले नेपाललाई तेस्रो मुलुकसँग आयात-निर्यातको बाटो सहज

जेष्ठ १९, २०८० |सुबिन्द्र श्रेष्ठ
पारवहन सन्धि नवीकरणले नेपाललाई तेस्रो मुलुकसँग आयात-निर्यातको बाटो सहज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएका समझदारी र सम्झौतासँगै पारवहन सन्धि नवीकरणले नेपाललाई समुन्द्रबाट भारतलगायत तेस्रो मुलुकसँग आयात-निर्यातको बाटो खोलेको छ । नेपालले पहिलोपटक कोलकाता बन्दरगाहबाट भारतको आन्तरिक जलमार्गमा पहुँच पाउने भएको हो ।

पारवहन सन्धीको नवीकरणपछि यसअघि भएका सम्झौता कार्यान्वयन गराउने सवालमा विशाखापटनमबाट विराटनगरसम्म सोझै मालबाहक रेल सञ्चालनले समुन्द्रमार्ग हुँदै नेपालले गर्ने आयात-निर्यातको खर्चसमेत घटाउने छ । यसका साथै कोलकाता बन्दरगाहबाट जलमार्ग र त्यहाँका टर्मिनलको प्रयोग तथा नेपालले चाहेमा कोशीसम्म जलमार्ग विस्तारको समेत बाटो खुलेको जानकारको भनाइ छ ।

जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ : प्रधानमन्त्री दाहाल

नेपालले पहुँच पाएका जलमार्गहरूमा कोलकाता-वाराणसी, कोलकाता-साहिबगञ्ज र कोलकाता-कालुघाट छन्। सडकबाट ७४० किलोमिटरभन्दा लामो यात्रा गर्नुपर्ने बाध्यता यसअघि रहेकोमा अब उक्त दुरी एक सय १० किलोमिटरमा छोट्टिनेछ । यसले ब्यापारको लागतमा सोझै प्रभाव पर्ने देखिन्छ । यसका साथै कोलकातादेखि साहिबगञ्जसम्म ६,००० टनसम्मका ढुवानी गर्ने साधनलाई ल्याउन सकिन्छ भने आवश्यक परे कोशी ब्यारेजसम्म दुईहजार टनसम्मका साधन ल्याउन सकिने जनाइएको छ ।

भारतका आन्तरिक जलमार्गहरूमा पहुँचले भविष्यमा निकै फाइदा पुग्ने महत्वपूर्ण उपलब्धीका रुपमा हेरिएको छ । सन्धी ७-७ वर्षमा नवीकरण गर्ने प्रावधान भए पनि २०७७ सालयता नवीकरण भएको थिएन । दुवै देशबीच १२ पटकभन्दा बढी भएका लेटर अफ एक्सचेन्जलाई सन्धिकै अङ्ग मानिए पनि त्यसलाई औपचारिकता भने पुनरवलोकनसहितको नवीकरणबाटै हुने कानूनविदको भनाइ छ ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो। नेपालले गर्ने कुल व्यापारको करिब ६३ प्रतिशत हिस्सा रहेको भारतसँग नै सबैभन्दा बढी व्यापार घाटा पनि छ। त्यसैले आयात र निर्यात गर्न पारवहनसन्धीले खोलेको बाटोको उपयोगिताले नै नेपालले प्राप्त गर्ने फाइदालाई निर्धारण गर्नेछ ।

थप...

प्रधानमन्त्रीको भारत भ्रमण : सातवटा सम्झौता, इपीजी र कालापानीबारे कुरै उठेन
अतिक्रमित नेपाली भूमीबारे १ शब्द पनि बोलेनन् प्रधानमन्त्री मोदीले
नेपालले महेन्द्रनगरबाट हवाई प्रवेश विन्दु मागेको थियो, भारतले सिर्सा र झुलाघाटमा २ पुल दियो
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मूको शिष्टाचार भेट
सीमासम्बन्धी विवाद पनि समाधान गर्छौँ : प्रधानमन्त्री मोदी


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।