
धादिङ । मध्य पहाडी क्षेत्रको ठुलो मेलाको रूपमा हेरिने धादिङको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला आइताबार सकिएको छ ।
देविलाई घर, माइती र मावली गराइने अचम्मको चलन भएको यो मेलामा माईलाई न्वागी खुवाउन माइती मन्दिरमा झारेसँगै यो वर्षको मेला सकिएको हो । हाम्रा संस्कार संकृतिहरू पृथक खालका छन् । धादिङको त्रिपुरासुन्दरी माईको, त्रिपुरासुन्दरी भगवती मेलाको पनि आफ्नै संकृतिहरू छन् । एक वर्षभित्र माईलाई विभिन्न तीन वटा मन्दिरमा लगेर राख्ने र त्यहि पूजाआजा गर्ने अनौंठो र रोचक परम्परा छ ।
सोहि परम्परा अनुरूप माईलाई आइतबार बिहान गाउँमा रहेको घर मन्दिरबाट बेसीमा रहेको माइती मन्दिरमा झारिएको छ । हजारौं भक्तजनको उपस्थितिमा बाजागाजा सहित माईलाई माईति मन्दिर झारिएको हो । विभिन्न तिथिमा माई भगवतीलाई घर मावली र माइतीको मन्दिरमा राख्ने चलन छ ।
यो मेलालाई पहाडी भु-भागकै ठुलो मेलाको रूपमा लिइने गरिन्छ । मंसिर महिनाको विशेष तिथिमा न्वागी खान माइती आएकी त्रिपुरासुन्दरी भगवती फागुन महिनासम्म माइतीघरमा बस्ने र फागुन महिनामा साइत हेरेर पुनःमाथि आफ्नै घर लाने परम्परा अनुसार मेला लाग्ने गरेको छ ।
गाउँको सुन्दर डाँडामा रहेको घर मन्दिरबाट बेसीमा रहेको माइती मन्दिरमा झार्दा भने निकै तामझामसँग देवि झार्ने प्रचलन छ । मन्दिर भित्र देविको दर्शन गर्न नपाइने भएकाले यो बेला भक्तजनले बाटो-बाटोमै माईको दर्शन गर्नेछन् । यसरी दर्शन गर्दा मनोकांक्षा पुरा हुने विश्वास छ ।
पृथ्विनारायण शाहले त्रिपुरासन्दरी माईको आशिर्वाद पाएर काठमाडौं युद्ध गर्न जाँदा विजय भएको किंवदन्तीका आधारमा लाग्दै आएको मेला भर्न देश भरका हजारौं मानिसहरू आउने गर्दछन् । त्रिपुरासुन्दरी माईलाई माइत झारेसँगै यो मेला सकिने छ । यो मन्दिरको प्रवर्द्धनको लागि गाउँपालिकाले मेहनत गरिरहेको छ । यो मेलाको दिन गाउँपालिकाले पर्व बिदा समेत दिने गरेको छ ।
बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले छुन नपाइने परम्पराअनुरूप बेसी झार्दा खुँडा, खुकुरीसहितको साङ्लो बनाय पञ्चेबाजामा नाच देखाउँदै दियो, कलश, बोकेर शफ, घन्ट बजाउँदै भगवतीको जय-जयकार गाउँदै अबीर जात्रा गर्ने गरिन्छ । यसलाई मेलाको आकर्षण मान्ने गरिन्छ । यो मेलालाई न्वागी मेलाको रूपमा चिन्ने गरिन्छ । आज यो मेला सकिएसँगै यसभेकका नागरिकले आफुले उत्पादन गरेको धान प्रयोग गर्न थाल्नेछन् ।