घोराही तुलसीपुर चार लेन सडकको काम अघि बढ्याे, समयमै काम सक्ने निर्माण कम्पनीकाे दाबी

मंसिर ७, २०८२ |अमर क्षितिज भण्डारी
घोराही तुलसीपुर चार लेन सडकको काम अघि बढ्याे, समयमै काम सक्ने निर्माण कम्पनीकाे दाबी

दाङ । दाङको लाइफलाइनका रुपमा रहेका घोराही तुलसीपुर चार लेन सडकको काम अघि बढेको छ । 

६ वर्षअघि ठेक्का लागेर ठेकेदारले काम नगर्दा अलपत्र रहेको सडकको ठेक्का तोडेर सरकारले फेरि ठेक्का लगाएर काम अघि बढाएको हो । यसपटक भने निर्माण कम्पनीले समयमै काम सक्ने दाबी गरेको छ । गत असार २४ गते ठेक्का सम्झौता भएको घोराही तुलसीपुर चार लेन सडकको मंसिर १ देखि घोराही उपमहानगरपालिका-१० अम्राइदेखि सडक विस्तारको काम सुरू भएको हो । 

त्यसअघि निर्माण कम्पनीले संयुक्त सर्भेलगायत कागजी कामहरू गरिहेको थियो । सडक निर्माणको कामले गति लिएपछि जिल्लाबासीले अब घोराही तुलसीपुर यात्रा सहज हुने अपेक्षा गरेका छन् । पहिलो चरणमा सडकको दाया-बायाँ माटो काट्ने, भर्ने तथा झार-झाडी फाल्ने काम भइरहेको छ । 

केही दिनमै यो सडक खण्डमा पर्ने बिजुलीका खम्बाहरू सार्न लागत अनुमान तयार गरी विद्युत प्राधिकरण वितरण केन्द्र, घोराही र तुलसीपुरलाई स्वीकृतिका लागि पठाइने भएको छ । घोराही-तुलसीपुर सडक चार लेनमा विकास गर्न झन्डै चार अर्ब लागत अनुमान गरिएकोमा भ्याटसहित दिवा-वन्दन भगवती जेभी निर्माण कम्पनीले २ अर्ब ५२ करोड ३७ लाखमा ठेक्का पाएको थियो । 

उक्त रकमबाट घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म २१ दशमलब ५८ किलोमिटर सडक चार लेनमा स्तरोन्नति हुनेछ । २०८५ असार २३ गतेसम्म ३६ महिना ठेक्का सम्झौता अवधि रहेको आयोजना फागुन २१ मा हुने चुनावका लागि भोट माग्ने नारा बन्न नहुने स्थानीयको भनाइ छ ।

सडक ३० मिटर चौडा हुनेछ । बिचमा मिडियन र दुवैतर्फ २/२ लेनको सडक हुनेछ । मदन भण्डारी राजमार्ग निर्देशनालयबाट बजेट व्यवस्थापन भए पनि सडक निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा सडक डिभिजन दाङबाट भइरहेको छ । बिचमा कुनै अवरोध नभएमा निर्धारित ३६ महिनाको समय सीमाभित्रै काम सक्ने निर्माण कम्पनीको दाबी छ ।

यसअघि सडक सुधार आयोजनाअन्तर्गत लमही-घोराही हुँदै तुलसीपुरसम्म सडक स्तरोन्नतिका लागि ठेक्कापट्टा व्यवस्थापन भइसकेको थियो ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।